Sutra News
८ बुँदेमा पार्टीको अहित देखाउन विश्वप्रकाशकाे चुनाैती, अब विशेष महाधिवेशनले सही नेतृत्व दिने चेतावनी
काठमाडौं । नेपाली कांग्रेसको विवादले विभाजनको औपचारिकता कुरेको छ । बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति (संस्थापन समूह)को बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई अनुशासनको कारबाही गर्दै ५ वर्षको लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ ।
तर, यसअघि संस्थापन इतर (विशेष महाधिवेशन) पक्षधरले सहमतिका लागि गरिएको ८ बुँदे प्रस्तावमा पार्टी र देशको हितविपरीत रहेको देखाउन विश्वप्रकाशले चुनौती दिएका छन् ।
आफूहरुमाथि कारबाही गरिएको खबर सार्वजनिक भएलगत्तै उनले सामाजिक सञ्जालमार्फत् संस्थापन समूहलाई चुनौती दिएका हुन् ।
सहमतिका लागि गरिएको ८ बुँदे प्रस्तावमा देश र पार्टीको हितविपरीतको बुँदा देखाउन मात्र चुनौती दिएनन् उनले भृकुटीमण्डपमा चार दिनदेखि जारी विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको र अब सही नेतृत्व दिने चेतावनी दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन् :
सहमतिका लागि आज बिहान प्रस्तावित यी ८ बुँदामध्ये कुन बुँदा काँग्रेस र देशको अहितमा थियो र छ ?
१) बिशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने
२) बिशेष महाधिवेशन परिमार्जन सहित पारित प्रस्तावहरु कार्यान्वयन गर्ने
३) सभापतिले सक्रिय भुमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने
४) उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने
५) आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने
६) कुनैपनी दलसँग गठबन्धन नगरेर नेपाली काँग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने
७) नेपाली काँग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने
८) यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने । जसमा – कार्यवाहक सभापति र दुई महामन्त्री बाहेक थप दुई नेताहरू रहने
मुस्कुराउँदै फेरि पढेँ यी बुँदा, मेरो प्रतिक्रिया केवल यत्ति छ– कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुवै दृढ छौँ । विधानअनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको छ, अब सही नेतृत्व दिनेछ ।