npl.977 Nepal News Stream

Sutra News logo Sutra News

२३ वर्षपछि कांग्रेसमा अर्को विभाजन

सुत्र न्युज 20 hours ago

काठमाडौं । जेनजी आन्दोलनसँगै सुरू भएकाे नीति र नेतृत्व परिवर्तनको एजेन्डासँगै कांग्रेस अन्ततः विभाजित भएको छ । पार्टीको संस्थापन पक्षीय केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेसँगै कांग्रेस विभाजित भएको हो ।

पार्टीको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले तीन नेतालाई साधारण सदस्यसमेत नरहने गरी ५ वर्षका कारबाहीको निर्णय सुनाएको छ । ‘पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेको ठहर गर्दै महामन्त्री गगन कुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई आजकै मितिबाट लागू हुने गरी पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरिएको छ’, कारबाहीको निर्णय सुनाउँदै संस्थापन पक्षीय नेता मीनबहादुर विश्वकर्माले भनेका छन् ।

कांग्रेसको संस्थापन पक्षले थापा, शर्मा र मन्सुरमाथि कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ को उपधारा १ तथा धारा ५० (५) अनुसार कारबाही गरेको छ । संस्थापन पक्षले तीन नेतामाथि समानान्तर अभ्यास गरेको, अनधिकृत महाधिवेशन घोषणा गरेको, समानान्तर निर्वाचन तालिका बनाएको, पार्टीलाई प्रत्यक्ष र अप्रत्यक्ष हानी नोक्सानी पुर्‍याएको ठहर गरेको छ ।

संस्थापन पक्षले कारबाहीको घोषणा सुनाइरहँदा तीन नेताले नेतृत्व गरेको समूहको भने काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेको छ । भृकुटीमण्डपमा जुटेको तीन नेताको पक्षले बहुमत महाधिवेशन प्रतिनिधि आफूसँग भएको दाबी गरेको छ । सोही आधारमा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रियालाई पनि अघि बढाएको छ ।

संस्थापनको कारबाहीपछि नेतृत्व चयन गर्दै निर्वाचन आयोगमा आधिकारिता दाबी गर्ने तयारीमा विशेष महाधिवेशन पक्ष छ । ‘अब हामी अलमलिनुपर्ने अवस्था रहेन । विशेष महाधिवेशनको मनोनयनको काम सकियो । नामावलीहरू सार्वजनिक हुँदै छ’, संस्थापन पक्षको कारबाहीको घोषणापछि विशेष महाधिवेशन पक्षको भेलालाई सम्बोधन गर्दै गगन थापाले भनेका छन्, ‘यहाँ विधिवत् र विधानसम्मत नेतृत्व चयन हुँदै छ । यही नै कांग्रेस हो  ‘निर्वाचन प्रक्रिया सकिएसँगै आयोगलाई जानकारी गराउँछौँ ।’

थापा, शर्मा र मन्सुरलाई गरेको कारबाहीको निर्णयबारे संस्थापनले निर्वाचन आयोगलाई जानकारी गराइसकेको छ भने थापा पक्ष पनि आफू आधिकारिक भएको दाबी गर्ने तयारीमा छ । यससँगै कांग्रेसमा दुई समूह मध्ये को आधिकारिक ? भन्ने विवाद सुरु भएको छ ।

सुरुवातीमा निर्वाचन आयोगले कसलाई आधिकारिक मान्छ, त्यो एउटा सन्दर्भ हो, यद्यपि, कांग्रेस विभाजित भइसकेको छ ।

कांग्रेस २३ वर्षअघि पनि विभाजित भएको थियो । २०५९ जेठ २४ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी निर्णय अवज्ञा गरेको भन्दै पार्टीको संस्थापन पक्षीय केन्द्रीय कार्यसमिति बैठकले तीन वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी निष्कासित गरेको थियो । सभापति गिरिप्रसाद कोइराला पक्षीय केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेपछि देउवा पक्षीय बैठकले कोइरालालाई कारबाहीको निर्णय सुनाएको थियो । जससँगै कांग्रेस आधिकारिकरूपमा विभाजित बनेको थियो ।

एकले अर्कोलाई कारबाहीपछि बहुमत कसले पुर्‍याउने भन्ने होडबाजीका बिच देउवा पक्षले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेको थियो । अहिले जस्तै तत्कालीन समय पनि चुनावको घोषणा हुँदै कांग्रेस विभाजित भएको थियो ।

२०५९ मा विभाजित कांग्रेस शान्ति प्रक्रियापछि २०६४ मा भने फेरि एकजुट भएको थियो । विभाजित भएर गएका सबै नेता एकतासँगै मूलक कांग्रेसमा समाहित भएका थिए । यद्यपि, २३ वर्षपछि सोही प्रकृतिमा कांग्रेस विभाजित भएको छ ।

सम्बन्धित समाचार

देउवा पक्षले गर्याे गगन–विश्वलाई ५ वर्षका लागि निष्काशन

Read more news from Sutra News

Explore by Source or Category