npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

दमौली–केशवटार जोड्ने सडक कालोपत्र

पालिका ब्यूरो 6 days ago

तनहुँ — जिल्ला सदरमुकाम दमौलीबाट करिब १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने सडकखण्ड ढलान तथा कालोपत्र गरिएको छ । हालसम्म सो मार्गको नौ किलोमिटर सडक पक्की भइसकेको छ ।

कूल १४ किलोमिटर दूरीको सडकमध्ये यसअघि सात किलोमिटर सडक कालोपत्र गरिएको थियो । पछिल्लो चरणमा प्रदेश सरकारको बजेटबाट दुई किलोमिटर सडक ढलान गरिएको हो । गण्डकी प्रदेश सरकारको रु पाँच करोड लागतमा नाला निर्माण, सडक विस्तार तथा कालोपत्रको काम अघि बढाइएको छ ।

गण्डकी प्रदेश सरकारको अघिल्लो आर्थिक वर्षको बजेटबाट निर्माण कार्य सुरु गरिएको र हालको काम सम्पन्न भएपछि अब पाँच किलोमिटर सडक कालोपत्र हुन बाँकी रहेको व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडक निर्माण कार्य भइरहेकाले पछिल्लो एक सातादेखि सो खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ ।

“हाल केशवटार–कुलुड हुँदै पृथ्वीराजमार्ग भएर दमौली आवतजावत गर्नुपर्ने अवस्था छ,” वडाध्यक्ष श्रेष्ठले भने ।

दमौली–केशवटार, धरमपानी र बन्दीपुर हुँदै पृथ्वीराजमार्गको डुम्रे बजारसँग जोड्ने उद्देश्यसहित उक्त सडकलाई चक्रपथका रूपमा विकास गर्न लागिएको छ । सहरी पूर्वाधार विकास तथा शासकीय कार्यक्रमअन्तर्गत विश्व बैंकको रु छ करोड ऋण–अनुदान व्यास नगरपालिकाबाट स्वीकृत भइसकेको छ भने दोस्रो चरणका लागि प्रक्रिया अघि बढाइएको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिए ।

यसैबीच गण्डकी प्रदेश सरकारबाट रु एक करोड बजेट पुनः विनियोजन गरिएको तथा केशवटार मोटरमार्ग स्तरोन्नतिका लागि व्यास नगरपालिकाले पटक–पटक गरी हालसम्म करिब रु चार करोड बजेट विनियोजन गरिसकेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

सडक स्तरोन्नतिपछि दमौली र आसपासका क्षेत्रका बासिन्दालाई यात्रा सहज हुनुका साथै स्थानीय व्यापार, पर्यटन र समग्र विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

Read more news from PalikaNews

Explore by Source or Category