npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

इम्बार्क अनम्याथको साथमा प्रिमियर स्कुलद्वारा एनपीएल थीमको गणित अक्शन आयोजना

इन्द्र कमल रोक्का 13 hours ago

काठमाडौं । इम्बार्क अनम्याथले प्रिमियर इन्टरनेशनल आइबी कन्टिन्यूम स्कुलसँगको साझेदारीमा एक नवीन सिकाइ–केन्द्रित गणित सत्र सम्पन्न गरेको छ ।

कार्यक्रममा विद्यार्थीले हाल चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ बाट प्रेरित लाइभ मोक क्रिकेट ‘अक्शन’ मा सहभागी हुँदै खेलकुदको रोमाञ्चलाई रणनीतिका साथ गणितीय सिकाइसँग जोड्ने अनुभव पाए । यस गतिविधिले विद्यार्थीहरूलाई गणितका अवधारणाहरू वास्तविक परिस्थितिमा कसरी प्रयोग हुन्छन् भन्ने अनुभव पनि गराएकाे थियाे ।

यस सत्रमा ६० विद्यार्थी, तीन शिक्षक तथा चितवन राइनोजका विशेष अतिथि बिपिन आचार्य सहभागी थिए । आचार्यले अनलाइनमार्फत खेलाडी छान्ने रणनीतिबारे आफ्नो पेशागत अनुभव सुनाएका थिए । यस गतिविधिमा विद्यार्थीले व्यावसायिक खेलकुदमा गणितीय सोचले कसरी निर्णयमा प्रभाव पार्छ भन्ने कुरा सिकेका थिए । उनीहरूले सांख्यिकीय विश्लेषण, बजेट व्यवस्थापन, सम्भाव्यता र रणनीतिगत योजना प्रयोग गरेर निर्धारित रकमभित्रै सन्तुलित टिम निर्माण गर्ने अभ्यास पनि गरे ।

इम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठीजाले भनेः “हरेक फ्रेन्चाइज टिमका लागि खेलाडीको सही संख्या र सीपको राम्रो संयोजन मिलाउन गणित नै मुख्य आधार हो । गणित र रणनीतिक योजना बिना प्रभावकारी निर्णय लिन सकिँदैन । यही कुरा यो सत्रको मुख्य सन्देश पनि हो ।”

विद्यार्थीले लाइभ अक्शनको दबाब र रोमाञ्चको बीचमै गणितका विभिन्न अवधारणामा सक्रिय रूपमा सहभागी भएर सिके । एक विद्यार्थीले आफ्नो अनुभव सुनाउँदै भने, “यो मोक अक्शनमा हामीले हिसाबकिताब गरेर जोखिम कसरी लिनुपर्छ, कहाँ बुद्धिमानी रूपमा लगानी गर्नुपर्छ र समूह तथा खेलाडीहरूलाई प्रभावकारी रूपमा कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने सिक्यौँ । यसले राम्रो निर्णय लिन कति धेरै अनुसन्धान र तयारी चाहिन्छ भन्ने पनि बुझायो । हामीलाई यो साँच्चिकै स्मरणीय अनुभव लाग्यो ।”

अर्का विद्यार्थीले थपे, “यो सत्रले हाम्रो गणित बुझ्ने क्षमता र निर्णय गर्ने कौशल अझै बलियो बनायो । हामीले सोचविचार गरेर बोली कसरी लगाउने भन्ने रणनीति बनायौँ र गणितीय दृष्टिबाट टिम कसरी बनाइन्छ भन्ने कुरा सिक्यौँ ।”

प्रीमियर इन्टरनेशनल स्कुल, नेपालकै एकमात्र आइबी कन्टिन्यूम स्कुल, सबै कक्षामा अनुभव र खोजीमूलक सिकाइलाई जोड दिन्छ । स्कुलले वास्तविक जीवनमा लागू हुने ज्ञान, आलोचनात्मक सोच र विभिन्न विषयबीचको सम्बन्धमा विशेष ध्यान दिन्छ । यसले विद्यार्थीहरूलाई केवल गणितमा मात्र दक्ष बनाउँदैन, दैनिक जीवनका जटिल समस्याहरू समाधान गर्न आवश्यक आत्मविश्वास र सीप पनि विकास गराउँछ ।

Read more news from Kendrabindu

Explore by Source or Category