मार्बल बोकेको ट्रक सुनसरीको भोक्राहामा दुर्घटना, एकै गाउँका पाँचको मृत्यु, तीन जना घाइते
इटहरी (सुनसरी)। सुनसरीको भोक्राहामा बिहीबार बिहान ट्रक पल्टिँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक भोक्राह-नर्सिंह गाउँपालिका अन्तर्गत हुलाकी राजमार्गमा दुर्घटना भएको हो।
दुर्घटना मृत्यु हुनेमा सुनसरीको बर्जु-१ का एकै बस्तीका पाँच जनाको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार ३२ वर्षीय वीरेन्द्र गुरुङ, ५५ वर्षीय बह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको हो।
उनीहरु ट्रकको पछाडि मार्बलमाथि बसेका थिए। ट्रक पल्टिँदा उनीहरुलाई मार्बलले किचेको हो। ट्रकको क्याबिनमा चालकसहित चार जना थिए भने पछाडि पाँच जना थिए । क्याबिनमा बसेका तीन जना घाइतेको विराटनगर नर्सिंह होममा उपचार भइरहेको छ। घटनालगत्तै फरार चालकको खोजी भइरहेको छ। रासस
The post मार्बल बोकेको ट्रक सुनसरीको भोक्राहामा दुर्घटना, एकै गाउँका पाँचको मृत्यु, तीन जना घाइते appeared first on BIZMANDU.