अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?
आज फागून १९ गते पूर्णिमाको दिन खण्डग्रास चन्द्र ग्रहण पर्न गएको छ ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटीले दिएको जानकारी अनुसार सन् २०२६ मा विश्वभर लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहणमध्ये नेपालबाट देखिने यो खण्डग्रास चन्द्रग्रहण हो । अहिले साँझ ६ बजेर ३ मिनेटबाट ग्रहण सुरु हुनेछ । ग्रहण ७ बजेर २ मिनेट सम्म रहने छ । एक घण्टा ५ मिनेट यस ग्रहणको अवधि रहनेछ ।
चन्द्र ग्रहणको सुतक काल सामान्यतया ग्रहण लाग्नु ९ घण्टा अगावै सुरु हुनेछ । यस पछि कुनै पनि शुभ कार्य गर्न नहुने ज्योतिष कृष्णप्रसाद पौडेलले बताएका छन् । पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा पृथ्वी सूर्य र चन्द्रमाबीच पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्छ । चन्द्रमाको आफ्नै प्रकाश नभएकाले पृथ्वीको छायाँले चन्द्रमा ढाकिँदा चन्द्रग्रहण हुन्छ । पूर्णिमामा सूर्य, पृथ्वी र चन्द्रमा एउटै सीधामा परे पनि चन्द्रमाको कक्ष पृथ्वीको कक्षीय धरातलसँग करिब पाँच डिग्री झुकेको हुने भएकाले हरेक पूर्णिमामा चन्द्रग्रहण हुँदैन ।
के गर्नहुन्छ, के गर्नहुँदैन ?
धार्मिक मान्यताअनुसार ग्रहणको केही घण्टा अगाडिदेखि नै सुतक लाग्छ । आज दिउँसो १ः११ बजेदेखि बालबालिका, वृद्ध र रोगी बाहेक अरूलाई भोजन निषेध गरिएको छ । चन्द्रग्रहण अवधिमा हवन, मन्त्रजप, दान जस्ता कार्यलाई शुभ मानिन्छ भने सुत्ने, खानपिन गर्ने, मैथुन गर्ने, तेल लगाउने, कसैलाई बाँध्ने वा मार्ने कार्य गर्न निषेध गरिएको शास्त्रीय ग्रन्थहरूमा उल्लेख छ ।
अर्थात् सुते रोगी, दिसा गरे कीरा योनीमा जन्म, पिसाब गरे दरिद्रता, मैथुन गरेर गाउँको सुँगुर भई जन्मनुपर्ने, तेल लगाए कुष्ठरोगी, भोजन गरे अधोगति, कसैलाई बन्धनमा राखे सर्प योनीमा जन्म, मारे नरकमा पर्ने शास्त्रीय भनाइ छ । वैज्ञानिक दृष्टिकोणले भने चन्द्रग्रहण पूर्णतया हानिरहित भएकाले यसलाई खुला आँखाले हेर्दा कुनै असर नपर्ने प्रस्टाइएको छ । बरु खगोलप्रेमी र विद्यार्थीका लागि यो अवलोकन, अध्ययन र अनुसन्धान गर्न दुर्लभ अवसर बन्नेछ ।
विशेष उपकरणविना नै हेर्न सकिन्छ चन्द्रग्रहण
विश्वमा सन् २०२६ मा लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहण गरी जम्मा चार ग्रहणमध्ये नेपालबाट भने भोलिको चन्द्रग्रहण खण्डग्रास चन्द्रग्रहणका रूपमा देखिनेछ ।
मौसमले साथ दिएका खण्डमा देशका सबै भागबाट उक्त खण्डग्रास चन्द्रग्रहण प्रष्ट देख्न सकिने खगोलको क्षेत्रमा काम गर्दै आएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरणको आवश्यकता पर्दैन ।
मङ्गलबार नेपालमा चन्द्रोदयपछि बेलुकी ०७ः०२ बजेसम्म लाग्ने खण्डग्रास चन्द्रग्रहण मौसमले साथ दिएमा प्रष्ट रुपले हेर्न सकिनेछ । सन् २०२६ मा नेपालबाट देख्न सकिने यो एकमात्र ग्रहण भएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।
ग्रहण अवलोकन आफ्नो घरको छत, वा खुला चौर वा नजिकैको डाँडा आदिबाट गर्न सकिनेछ । चन्द्रोदयसँगै नेपालमा सुरु हुने यो ग्रहण हेर्न नजिकैको उच्च भूगोल उत्तम हुने उनले बताए ।