npl.977 Nepal News Stream

KHASOKHAS logo KHASOKHAS

ट्याक्स फाइल गर्दा आफ्ना बच्चाका लागि १ हजार डलर आउने ‘ट्रम्प एकाउन्ट’ कसरी दर्ता गर्ने?

किशोर पन्थी 2 days ago

यस पटक ट्याक्स फाइल गर्दा आफ्ना बच्चाका लागि ‘ट्रम्प एकाउन्ट’ खोल्न चाहने अभिभावकहरूले विशेष ध्यान दिनुपर्नेछ। “वान बिग ब्यूटीफुल बिल एक्ट” अन्तर्गत ल्याइएको नयाँ व्यवस्थाअनुसार, अभिभावकहरूले सन् २०२५ को कर फाइल गर्दा आफ्ना नाबालिग बच्चाहरूका लागि ‘ट्रम्प एकाउन्ट’ दर्ता गर्न पाउने छन्। उक्त एकाउन्टमा संघीय सरकारले १ हजार डलर जम्मा गरिदिनेछ।

यो खातामा रकम जम्मा गर्ने प्रक्रिया आगामी जुलाई ४ पछि मात्र सुरु हुनेछ। तर संघीय सरकारले करदाताहरूलाई ट्याक्स फाइल गर्ने समयमा नै यस कार्यक्रममा सहभागी हुने विकल्प दिएको छ। यी खाताहरू बच्चा १८ वर्षको भएपछि उनीहरूको भविष्यका खर्चका लागि एउटा बलियो बचत कोषका रूपमा परिकल्पना गरिएको छ, जहाँ रिटायर्ड कोषहरूमा जस्तै लगानी समयसँगै वृद्धि हुँदै जानेछ।

‘ट्रम्प एकाउन्ट’ को मुख्य फाइदामध्ये एक यसको बहुआयामिक प्रयोग हो। परम्परागत ५२९ शिक्षा बचत खातामा जम्मा गरिएको रकम मुख्यतया शैक्षिक खर्चका लागि मात्र प्रयोग गर्न मिल्थ्यो, तर ‘ट्रम्प एकाउन्ट’ मा जम्मा गरिएको रकम बच्चा वयस्क भएपछि घर किन्न, व्यवसाय सुरु गर्न वा कलेज शुल्क तिर्न प्रयोग गर्न सकिनेछ।

१८ वर्ष नपुगुन्जेल यो रकम झिक्न पाइने छैन। यदि कसैले समयअघि रकम निकाल्न चाहेमा, व्यक्तिगत रिटायर्ड खातामा जस्तै थप कर लाग्न सक्छ। तथापि, उच्च शिक्षा वा पहिलो पटक घर खरिदका लागि केही विशेष छुटहरू दिइने संकेत आईआरएसले गरेको छ।

खाता दर्ता प्रक्रियाका लागि आईआरएसले विशेष रूपमा ‘फारम ४५४७’ तयार पारेको छ, जुन डोनाल्ड ट्रम्प अमेरिकाको ४५औं र ४७औं राष्ट्रपति भएको सन्दर्भसँग सम्बन्धित गरी तयार गरिएको हो। यो फारम भर्दा अभिभावकले आफ्नो नाम, सामाजिक सुरक्षा नम्बर र ठेगाना उपलब्ध गराउनुपर्नेछ, जसले उनलाई खाताको ‘जिम्मेवार पक्ष’ को रूपमा स्थापित गर्नेछ।

साथै, बच्चाको पनि सोही विवरण चाहिनेछ। एउटै फारममा दुई जनासम्म बच्चाको विवरण भर्न सकिन्छ। दर्ता प्रक्रियाकै क्रममा अभिभावकहरूले ट्रेजरी विभागबाट प्राप्त हुने १ हजार डलरको सुविधा लिने वा नलिने छनोट गर्नुपर्नेछ। यो सुविधा सन् २०२५ देखि २०२८ बीच जन्मिएका योग्य बालबालिकाका लागि मात्र उपलब्ध हुनेछ। यद्यपि, सामाजिक सुरक्षा नम्बर भएका १८ वर्ष मुनिका सबै बालबालिकाहरू ‘ट्रम्प एकाउन्ट’ का लागि योग्य छन्।

त्यस्तै, २०२५ अघि जन्मिएका तर १० वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरू, जो १ हजार डलर सरकारी योगदानका लागि योग्य छैनन्, तिनीहरूले २५० डलरको एकपटकको भुक्तानी प्राप्त गर्न सक्छन्। यो रकम धनी अमेरिकीहरूका परोपकारी दानबाट वित्तपोषित हुनेछ।

यस कोषमा विभिन्न स्रोतबाट रकम संकलन हुन सक्छ, जसमा संघीय सरकारको प्रारम्भिक सहयोग, परिवार वा आफन्तको दान, धनी अमेरिकीहरूको परोपकारी योगदान, र राज्य सरकारहरूको लगानी समावेश छन्। परिवार वा मित्रहरूले वार्षिक ५ हजार डलरसम्म यस खातामा जम्मा गर्न सक्छन्, भने रोजगारदाताले थप २५ सय डलरसम्म योगदान गर्न सक्ने व्यवस्था छ। तर यो योगदानसमेत ५ हजार डलरको कुल सीमाभित्र गणना हुनेछ। यी सीमाहरू मुद्रास्फीतिका आधारमा हरेक वर्ष समायोजन हुनेछन्।

यदि अमेरिकाका ठूला ५ सय कम्पनीको स्टकले औसत १०.५ प्रतिशतले वृद्धि गरेमा, सरकारद्वारा सुरुवाती रूपमा जम्मा गरिदिएको १ हजार डलर मात्र पनि बच्चा रिटायर्ड उमेरमा पुग्दा ६ लाख डलरभन्दा बढी हुन सक्छ। अधिकतम वार्षिक योगदान गरिएको अवस्थामा बच्चा १८ वर्ष पुग्दा खाताको मूल्य ३ लाख डलर र २८ वर्ष पुग्दा १ मिलियन नाघ्ने अनुमान गरिएको छ।

Read more news from KHASOKHAS

Explore by Source or Category