अन्तिम समयसम्म लाइभ बसेर भोट मागेका रवि लामिछानेको भेरिफाइड फेसबुक गायब
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको भेरिफाइड फेसबुक पेज देखिन छाडेको छ ।
फागुन २१ गते हुने निर्वाचनअघि चुनावी प्रचारका लागि सक्रिय रूपमा प्रयोग हुँदै आएको उक्त फेसबुक पेज सोमबार रातिसम्म सञ्चालनमा थियो। लामिछानेले अन्तिम समयसम्म मत माग्दै भिडियो सन्देशसमेत पोस्ट गरेका थिए। तर मौन अवधि सुरु भएसँगै उनको भेरिफाइड पेज सर्च गर्दा नदेखिएको पाइएको छ।
लामिछानेका अन्य फेसबुक अकाउन्ट भने सक्रिय छन्। भेरिफाइड पेज मात्र हटाइएको वा निष्क्रिय बनाइएको हो भन्नेबारे आधिकारिक स्पष्टिकरण सार्वजनिक भएको छैन।
निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार गर्न पाइँदैन। सामाजिक सञ्जालमार्फत हुने प्रचार पनि यस अवधिमा निषेधित मानिन्छ । यसै सन्दर्भमा पेज आफैं हटाइएको हो वा अन्य कारणले गायब भएको हो भन्ने विषयमा चासो बढेको छ ।
निर्वाचन आयोगले मौन अवधिको कडाइका साथ पालना गराउन निगरानी बढाएको जनाएको छ । डिजिटल प्लेटफर्ममार्फत हुने प्रचार गतिविधिमाथि विशेष अनुगमन भइरहेको बताइएको छ ।