Sutra News
‘सरकारको ग्राण्ड डिजाइनबाट कांग्रेस फुटाइएको हो’
काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले अहिले देशमा चुनावी वातावरण नरहेको बताएका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेले चुनावमा भाग नलिने भनेर कहिल्यै नभनेको सुनाए।
उनले भने, ‘एमालेले चुनावमा भाग लिन्छ र भन्ने प्रश्नहरु आइरहेका छन्। हामीले चुनावमा भाग लिँदैनौं भनेर कहिले पनि भनेका छैनौं। अहिले चुनावको वातावरण छैन भन्ने हाम्रो कुरा हो। अहिले पनि प्रहरी र प्रशासनको मनोबल कमजोर छ।’
सुशीलाकार्की नेतृत्वको सरकारले आफूलाई नारीको सरकार भन्ने गरे पनि व्यवहारमा सुधार नदेखिएको उनको आरोप छ।
युवा पुस्तालाई अघि ल्याउनुपर्ने र पुराना दल तथा नेताहरूको काम छैन भन्ने खालका अभिव्यक्तिहरू एमाले कमजोर बनाउन र रवि लामिछाने पक्षलाई बलियो बनाउने रणनीतिक चाल भएको बस्नेतको आरोप छ।
बस्नेतले प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेस विभाजन भएकाले आफूहरूलाई धेरै सजिलो भएको बताए। सरकारको एमाले विभाजन गर्ने चाहना पूरा नभएपछि ग्राण्ड डिजाइनबाट कांग्रेस फुटाइएको बस्नेतको दाबी छ।
‘प्रमुख प्रतिस्पर्धी दल फुटेको कारण हामीलाई धेरै सजिलो भएको छ। तर हामी खुसी छैनौँ। यो ग्राण्ड डिजाइनबाट विभाजन गराइएको हो,’ उनले भने।
कांग्रेसको विभाजन नेपालको लोकतान्त्रिक र राष्ट्रियताको आन्दोलनमा दुःखद भएको उनले बताए।