नेपाल-बंगलादेश वाणिज्य सचिव बैठकमा व्यापारसम्बन्धी अवरोध घटाउने विषयमा छलफल
काठमाडौं। नेपाल र बंगलादेशबीचको आठौँ वाणिज्य सचिवस्तरीय बैठकमा द्विपक्षीय व्यापार बढाउन व्यापारसम्बन्धी अवरोध घटाउने विषयमा छलफल भएको छ।
बुधबार सम्पन्न बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले व्यापारसम्बन्धी अवरोध घटाउनुपर्ने विषयमा जोड दिएका थिए। उनले अन्य शुल्क र खर्च कम गर्न आवश्यक रहेको समेत बताए।
एलडीसीबाट ग्राजुएट हुन लागेको सन्दर्भमा क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा साझा हितका लागि सहकार्य आवश्यक रहेको सचिव घिमिरेको भनाइ थियो।
बंगलादेशी पक्षको नेतृत्व गरेका वाणिज्य मन्त्रालयका सचिव महबुबुर रहमानले व्यापार र लगानी तथा कनेक्टिभिटी र पर्यटनमा सहकार्य बढाउनुपर्नेमा जोड दिए। उनले यातायात पूर्वाधार सुधार, भन्सार प्रक्रिया सरल बनाउने र व्यापार सहजीकरणमा बंगलादेशको प्रतिबद्धता दोहोर्याए।
बैठकमा सन् २०२४ अप्रिलमा काठमाडौंमा सम्पन्न सातौँ बैठकपछि भएको प्रगतिबारे समीक्षा गरिएको थियो। दुवै पक्षले आगामी ३ महिनाभित्र व्यापार वार्ता समितिको बैठक बोलाउने सहमति गरेका छन्।
प्राथमिकता व्यापार सम्झौता, उत्पत्तिको नियम र वस्तु सूचीमा वार्ता छिटो अघि बढाउने सहमति भएको बताइएको छ। बैठकमा भन्सार प्रक्रिया समन्वय, सीमापार भुक्तानी सहजीकरण र गैर-शुल्क अवरोध समाधानमा पनि सहकार्य गर्ने सहमति भएको छ।
बैठकमा संयुक्त लगानीको महत्त्वमा जोड दिइएको थियो। नेपालमा जलविद्युत् विकास र वस्तु तथा सेवाको मूल्य शृंखला विकासमा सहकार्य गर्ने सहमति भएको छ। पर्यटन सहकार्य बढाउन संयुक्त कार्ययोजना र नियमित आदानप्रदान गर्ने सहमति पनि भएको छ।
नवौँ वाणिज्य सचिवस्तरीय बैठक काठमाडौंमा आयोजना गरिनेछ।
The post नेपाल-बंगलादेश वाणिज्य सचिव बैठकमा व्यापारसम्बन्धी अवरोध घटाउने विषयमा छलफल appeared first on BIZMANDU.