PalikaNews
हाँडीगाउँको प्राचीनता फर्काउन मौलिक स्वरूप पुनरुत्थानको काम अघि बढ्यो
काठमाडौँ – आधुनिक भवन निर्माण प्रक्रिया र जीवनशैलीका कारण रूपान्तरण हुँदै गएको हाँडीगाउँको ऐतिहासिक र सांस्कृतिक मौलिकता पुनः स्थापित गर्न काठमाडौँ महानगरपालिका र वडा कार्यालयले क्षेत्रगत तथा चरणगत रूपमा काम अघि बढाएका छन् । यसैक्रममा कृष्णमन्दिरदेखि डबली हुँदै भवँर कुःसम्मको करिब ३०९ मिटर सडक दायाँ–बायाँ रहेका भवनहरूको अग्रमोहोडा (फसाड) मौलिक शैलीमा रूपान्तरण गर्ने काम सुरु हुन लागेको छ ।
ढुङ्गा बिछ्याउनेसहितको यस परियोजनाको लागत अनुमान रु ९ करोड ७३ लाख रहेकोमा बोलपत्रमार्फत छनोट भएको निर्माण कम्पनीसँग रु ९ करोड ४५ लाखमा सम्झौता गरिएको छ । यस मार्गमा मौलिक स्वरूप परिवर्तन गर्नुपर्ने ६३ वटा घरमध्ये नौ वटाको अग्रमोहोडा स्थानीयवासी आफैँले सुधार गरिसकेका छन् भने बाँकी ५४ वटा घरको सुधार कार्य गरिनेछ ।
सहर विस्तारसँगै निर्माण तथा पुनर्निर्माण भएका भवनहरू आधुनिक बन्दै जाँदा हाँडीगाउँको मौलिकता क्रमशः हराउँदै गएको थियो । अब ती भवनहरूको झ्यालढोका, बालकोनी, गारो र पर्खालको पूर्ण वा आंशिक परिवर्तन गरिनेछ । यसैक्रममा पाटी, फल्चा, मन्दिर, सामुदायिक भवन, सडक र पेटीको समेत पुनरुत्थान गरिने योजना छ । मौलिक शैलीमा घरको पेटी, कार्नेस, बलेँसी, पाखा वा पाली, झिँगटीको छानो, बाहिर देखिने इँटाको गारो र बुट्टेदार परम्परागत झ्याललाई विशेष महत्व दिइनेछ । छिँडी, मातः, च्वतं र बुईंग गरी चार तला तथा छानासहितको संरचना मौलिक घरको डिजाइन मानिन्छ ।
किराँतकालीन टुँडालदेवी जात्रा र लिच्छवीकालीन नारायण जात्रासहित वर्षौँदेखि सञ्चालन हुँदै आएका जात्रा, पर्व, धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिमा यही मार्ग अनिवार्य रूपमा प्रयोग हुँदै आएको छ । यस क्षेत्रमा कृष्ण मन्दिर, नारायण मन्दिर, दुई वटा बुद्ध चैत्य, जरु (परम्परागत इनार), महादेव मन्दिर, सत्तलहरू तथा अक्षय तृतीयाका दिन सर्वत पानी वितरण, दाफा भजनजस्ता गतिविधि सञ्चालन हुने स्थानहरू रहेका छन् ।
वडाले यस क्षेत्रलाई हरेक शनिबार सवारीसाधन निषेध क्षेत्र घोषणा गरी परम्परागत उत्पादनको प्रदर्शनी तथा मेला सञ्चालन गर्दै आएको छ । यस्ता मेलामा ६५ वटासम्म प्रदर्शनी कक्ष रहने गरेका छन् । अहिलेसम्मको तथ्याङ्कअनुसार यहाँ दैनिक औसत ३३ लाख रुपैयाँसम्मको आर्थिक कारोबार हुने गरेको छ ।
वडाध्यक्ष वीरेन्द्र प्रजापतीका अनुसार हाँडीगाउँ उपत्यकाकै सबैभन्दा प्राचीन सांस्कृतिक क्षेत्रहरूमध्ये एक हो । “यो क्षेत्र पूर्व–लिच्छवि, वर्मा र लिच्छवि कालीन संस्कृति र सम्पदाको केन्द्र हो,” उनले भने, “हाँडीगाउँको प्राचीनता फर्काउन कृष्णमन्दिरदेखि ढोकावहाल, भुँवर कुः, कोटाल टोल, गहनापोखरी, न्हाल्मा टोल हुँदै ढल्कोभित्रको पुरानो सहर क्षेत्रमा परम्परागत शिल्प र शैली देखिने गरी भवन पुनरुत्थान र ढुङ्गा छाप्ने काम गरिरहेका छौँ ।”
प्रजापतीका अनुसार नरःदे क्षेत्रमा इसापूर्व दोस्रो शताब्दीका पुरातात्विक अवशेष र सांस्कृतिक सम्पदा तथा भवनका जग भेटिएका छन् । सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व–लिच्छवि कालका मन्दिरका अवशेषसमेत फेला परेका छन् । “यिनै प्रमाणका आधारमा सहरलाई पुनरुत्थान गरिनेछ,” उनले बताए ।
वडाभित्र हाल करिब रु ५५ करोडभन्दा बढी लागतका ठूला योजना सञ्चालनमा छन् । सानो गौचरणमा करिब रु १८ करोड लागतमा फुटबल स्टेडियम निर्माण हुँदैछ । सार्वजनिक जग्गा फिर्ता गरी पार्क निर्माण, रु ६ करोड ५० लाखमा स्केटबोर्ड पार्क, रु २ करोड १५ लाखमा स्पोट्र्स पार्क, रु १ करोड २५ लाखमा सामुदायिक भवन, रु ८० लाखमा नर बुद्ध विहार र रु ५ करोड २४ लाखमा गहना पोखरी पुनर्निर्माण भइरहेको छ ।
यसैगरी धोबीखोला करिडोर र खहरे धोबीखोला दोभानमा पार्क निर्माण, भित्री सहरी क्षेत्रमा ढुङ्गा छाप्ने काम, धनगणेश मन्दिर तथा पार्क पुनर्निर्माण, भीमसेन स्थानमा पुस्तकालयसहित फल्चा, पञ्चेधारा, धनगणेश सत्तल, मैतीदेवी पञ्चकुमारी द्यःछेँ, वडा भवन तथा विभिन्न फल्चाहरूको पुनर्निर्माण कार्यसमेत अघि बढाइएको छ ।
गहना खोज्ने पोखरी, कुमार कार्तिकेय र भीमसेन मन्दिर, कृष्ण मन्दिर, टुँछें, नासद्यो, द्योछें, मनमानेश्वरी, सत्यनारायण मन्दिर, भारवी धारा, अंशुवर्माको वडापत्र रहेको डबली, चार नारायण मन्दिरलगायत सम्पदा यस क्षेत्रका ऐतिहासिक पहिचान हुन् ।
यस क्षेत्रलाई थप मौलिक बनाउन अन्य वडाबाट प्रवेश गर्ने नाकामा प्रतीक चिन्ह राख्ने योजना रहेको वडा सदस्य शशी थापाले जानकारी दिए ।
काठमाडौँ महानगरपालिकाले ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा वास्तुकलात्मक महत्व बोकेका निजी तथा संस्थागत भवनहरूको परम्परागत स्वरूप संरक्षण र पुनःस्थापनाका लागि विशेष कार्यक्रम कार्यान्वयनमा ल्याएको जनाएको छ । यस कार्यक्रमबाट मौलिक शैलीमा आएको परिवर्तन सच्याई पुरानै दृश्यात्मक पहिचान कायम गर्ने लक्ष्य लिइएको छ ।