नागढुंगा सुरुङमार्गमा सेवा प्रदायक छनोट पेचिलो, जापानको चाहनाविपरीत चिनियाँ कम्पनी प्रतिस्पर्धामा
काठमाडौं। जापान सरकारको ऋण सहयोगमा निर्माण भएको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि चिनियाँ सरकारी स्वामित्वका कम्पनीले पनि आवेदन दिएका छन्।
जापानले चिनियाँ कम्पनीलाई कुनै हालतमा सुरुङ मार्ग सञ्चालनको जिम्मा नदिन लबिइङ गरिरहेका बेला उत्तरी छिमेकी देशका ६ कम्पनीले आवेदन दिएका हुन्। ६ वटा चिनियाँ कम्पनीले नेपाली कम्पनीसँग मिलेर आवेदन दिएको नागढुंगा सिस्नेखोला सुरुङमार्ग आयोजनाका एक कर्मचारीले जानकारी दिए।
ती कर्मचारीका अनुसार ब्राइट बुल निर्माण सेवाले शान्सी रोड एण्ड ब्रिज ग्रुप कर्पोरेसन लिमिटेड र काष्ठमाण्डप कन्स्ट्रक्सनले गान्सु हेङटोङ रोड एण्ड ब्रिज इन्जिनियरिङ कम्पनीसँग जेभीका रुपमा आवेदन दिएका छन्।
शान्सी रोड एण्ड ब्रिज ग्रुप कर्पोरेसन चीनको सरकारी स्वामित्वको कम्पनी हो। यो कम्पनीले सडक, पुल, सुरुङमार्ग जस्ता यातायात पूर्वाधार निर्माण गर्दै आएको छ। बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा संलग्न कम्पनीले सुरुङमार्ग निर्माण र सञ्चालनका लागि सहायक कम्पनीमार्फत काम गर्दै आएको छ।
यस्तै डाँफे कन्स्ट्रक्सनले जियाङ्सी तियानफेङ कन्स्ट्रक्सन ग्रुप कम्पनी, समानान्तर निर्माण सेवाले चाइना फर्स्ट हाइवे इन्जिनियरिङ कम्पनी, वेदनश्री इन्फ्रास्ट्रक्चरले र्याङ्केन रेलवे कन्स्ट्रक्सन ग्रुप र एआरटी कन्स्ट्रक्सनले चोङकिङ युसिन रोड एण्ड ब्रिज डेभलपमेन्ट कम्पनीसँग मिलेर आवेदन दिएका छन्।
समानान्तर निर्माण सेवासँग मिलेर आवेदन दिएको चाइना फर्स्ट हाइवे इन्जिनियरिङ कम्पनीले अहिले राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनामा पनि काम गरिरहेको छ। कम्पनीले छैटौं प्याकेजमा पर्ने सडक, पुल र सुरुङमार्ग बनाइरहेको छ। यो कम्पनीमा पनि चीन सरकारको ठुलो स्टेक छ।
चीनमा पूर्वाधार निर्माणमा संलग्न चोङकिङ युसिन रोड एण्ड ब्रिज पनि सरकारी स्वामित्वको कम्पनी हो।
र्याङ्केन रेलवे कन्स्ट्रक्सन ग्रुप पूर्वाधार डिजाइन र निर्माण गर्ने कम्पनी हो। १९९८ मा स्थापित कम्पनीले रेलवे र राजमार्ग निर्माणमा विशेषज्ञता राख्छ। यो कम्पनी इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन(ईपीसी) मोडलका ठेक्काहरुका लागि परिचित छ।
जापानले टेण्डर आह्वान भएदेखि नै चिनियाँ कम्पनीलाई नै रोक्न खोजिरहेको छ। सुरुङमार्ग सञ्चालनका लागि चिनियाँ सरकारी स्वामित्वका तथा विश्व बैंक र एसियाली बिकास बैंकको कालोसूचीमा परेका कम्पनी नछान्न जापानले लबिइङ गर्दै आएको छ।
यस विषयमा जापानी राजदूतले अर्थमन्त्री रामेश्वर खनालसँग कुरा गरिसकेका छन्। यो विषय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यसअघि नै पुगिसकेको छ। तर तत्कालीन भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले सुरुङमार्ग सञ्चालन गर्ने कम्पनी छनोटमा जापानको सर्त मान्न नसकिने बताएका थिए।
चिनियाँ कम्पनीहरु प्राविधिक मूल्यांकनमा पास भएमा जापानको सर्तका कारण अनुसार सेवा प्रदायक छनोटमा समस्या खडा हुने स्थिति रहेको आयोजनाका ती कर्मचारीले बताए।
‘कुनै देशका कम्पनीलाई रोक्ने कानुनी प्रावधान नै छैन। जसले गर्दा चिनियाँ कम्पनी प्राविधिक मूल्यांकनमा पास भएको अवस्थामा जापानको सर्तका कारण अप्ठेरो पर्ने देखिन्छ,’ ती कर्मचारीले भने।
आयोजनाले सेवा प्रदायक छनोटका लागि गत कात्तिक १६ गते टेण्डर आह्वान गरी प्रस्ताव पेस गर्न इच्छुक कम्पनीलाई दुई पटक म्याद थप गरेर पुस ३० गतेसम्मको समय दिएको थियो।
चिनियाँ बाहेक स्वच्छन्द निर्माण सेवाले सेगमेन्टल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडलाई जेभीका रुपमा ल्याएको छ। यो २००९ मा स्थापना गरिएको भारतीय कम्पनी हो। कम्पनीसँग भारतका रेवा सिद्धि, चेन्नाई नश्री, खेलानी, राजपुर विशाखापट्नम ओडी३ र खुर्दा बोलनगिर टनेलमा सुपरिवेक्षणको काम गरेको अनुभव छ।
कुमार श्रेष्ठ निर्माण सेवा र बागेश्वर कन्स्ट्रक्सनले अल्टिनोक कन्सल्टिङ इन्जिनियरिङ इन्कलाई जेभीका रुपमा ल्याएका छन्।
अल्टिनोक कन्सल्टिङ इन्जिनियरिङ टर्कीको पहिलो र प्रसिद्ध स्वतन्त्र परामर्श फर्ममध्ये एक हो। कम्पनीले १९६३ देखि इन्जिनियरिङ परियोजनाहरुमा संलग्न छ। निजी र सार्वजनिक क्षेत्रमा काम गरेर ख्याति कमाएको कम्पनीले रेट्रोफिटिङ, राजमार्ग र रेलवे जस्ता परियोजना बनाउँदै आएको छ।
बाबरी कन्स्ट्रक्सनले टनेलटेक सोलुसन प्रालिलाई जेभीका रुपमा ल्याएको छ। टनेलटेक २००० मा स्थापित भारतीय कम्पनी हो। जसले सुरुङमार्ग संचालन र व्यवस्थापनको काम गर्दै आएको छ। यसको सहायक कम्पनीले हिमाञ्चल प्रदेशमा किरातपुर र पन्डोल टकोली तथा जम्मु कास्मिरमा जोजिला टनेल सञ्चालनको जिम्मा लिएर काम गरिरहेको छ।
यस्तै पशुपति शिवजी कन्स्ट्रक्सनले एल्सामेक्स मेन्टिनेन्स सर्भिस लिमिटेडसँग मिलेर आवेदन दिएको छ।
The post नागढुंगा सुरुङमार्गमा सेवा प्रदायक छनोट पेचिलो, जापानको चाहनाविपरीत चिनियाँ कम्पनी प्रतिस्पर्धामा appeared first on BIZMANDU.