npl.977 Nepal News Stream

Taksar News logo Taksar News

रास्वपाको चुनावी प्रचारको गाडी मदिरा र चामलसहित नियन्त्रणमा

टक्सार न्युज 20 hours ago

सल्यान । सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसारमा संलग्न गाडीमा मदिरा र चामल लोड गरिएको अवस्थामा नियन्त्रणमा लिइएको छ। बनगाड–कुपिण्डे नगरपालिकास्थित सल्लिबजारमा सोमबार बिहानै खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–०१८ च ०४२९ नम्बरको बोलेरो जीप प्रहरीले नियन्त्रणमा लिएको हो।

सोमबार बिहान करिब ८ बजे गाडीमा रक्सी ७ कार्टुन, बियर २ कार्टुन, चामल २ बोरा र खाने तेल ३ कार्टुनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए ।

पार्टीको प्रचारप्रसारमा प्रयोग भएको उक्त गाडीमा पार्टी झण्डा, ब्यानर र साउण्ड बक्स समेत रहेको थियो। मतदान नजिक आइरहेको बेला गाडीमा मदिरा र खाद्यान्न लोड गरिएकोले निर्वाचन आचारसंहिता विपरित भएको भन्दै स्थानीयमा विरोध सुरु भएको छ। घटनासँग सम्बन्धित भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको छ।

जीप चालक नन्द रानाले उक्त सामग्री खैरागारसम्म स्थानीय व्यापारीको ढुवानीका लागि रहेको दाबी गरेका छन् । ती सामग्री कृतिबहादुर रानाको भएको बताइएको छ। रास्वपा बनगाड–कुपिण्डे नगर सभापति लोकेन्द्र वलीले प्रचारमा प्रयोग भएको गाडीमा यस्तो सामग्री राखिनु चालकको कमजोरी भएको बताएका छन् ।

उनले भुलवश वा अन्जानमा भएको गल्ती स्वीकार गर्दै पार्टीलाई यसबारे कुनै जानकारी नभएको र चालकले आफ्नै विवेकमा यस्तो गरेको उल्लेख गरे पनि नियतवश नै गाडीमा मदिर र चामल राखिएको दाबी गरिएको छ ।

उक्त सामग्रीसहितको गाडी प्रहरी नियन्त्रणमा रहेको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Read more news from Taksar News

Explore by Source or Category