npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

शैक्षिक भ्रमणका विद्यार्थी बोकेको बस दुर्घटना, २९ जना घाइते

Saral Patrika 14 hours ago

विराटनगर। शैक्षिक भ्रमणका लागि तेह्रथुम पुगेर फर्किँदै गरेको विद्यार्थी र शिक्षक बोकेको बस आइतबार दिउँसो धनकुटामा दुर्घटना हुँदा कम्तीमा २९ जना घाइते भएका छन्।

घाइते हुनेहरूमा अधिकांश विद्यार्थी र उनीहरूका शिक्षकहरू रहेको प्रहरीले जनाएको छ।

सुनसरीको रामधुनी नगरपालिका–५ स्थित पिंक लोटस इङ्लिस बोर्डिङ स्कुल को शैक्षिक भ्रमण टोली बोकेको को १ ख ५३१३ नम्बरको बस दुर्घटनामा परेको हो।

कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–७, रमाइलो घुम्ती नजिक दिउँसो ४ः२५ बजेतिर बस आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

सडकबाट तल खसेको बसले बाटो नजिकै रहेको एउटा घरमा समेत क्षति पुर्याएको छ। प्रहरीका अनुसार, बसले घरको एउटा कोठा भत्काउँदै थप तल खसेको थियो। दुर्घटनाका कारण बसमा पनि ठूलो क्षति पुगेको छ।

प्रहरीले दुर्घटनामा परेर प्रारम्भिक रूपमा विद्यार्थी र शिक्षक गरी कम्तीमा २९ जना घाइते भएको पुष्टि गरेको छ। दुर्घटना हुँदा चालकसमेत गरेर बसमा अन्दाजी ४१ जना सवार थिए।

प्रहरीका अनुसार, कतिपय घाइतेहरू आफैं अस्पताल पुगेका कारण घाइतेको यकिन सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

दुर्घटनालगत्तै प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी धनकुटा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण पत्ता लाग्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read more news from Saral patrika

Explore by Source or Category