टि ट्वान्टी विश्वकप – भारत नजाने बंगलादेशको अडान कायमै
एजेन्सी – बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले आगामी टि ट्वान्टी विश्वकप २०२६ भारतमा खेल्न नजाने आफ्नो निर्णयमा अडिग रहेको जनाएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले यो निर्णय पुनर्विचार गर्न आग्रह गरे पनि बंगलादेशले सुरक्षाको कारण देखाउँदै अडान नफेर्ने स्पष्ट पारेको छ।
बिसिबी र आइसिसीबीच मंगलबार भिडियो कन्फरेन्समार्फत छलफल भएको थियो। छलफलमा बिसिबीले भारतमा खेल्न सुरक्षाको जोखिम रहेको भन्दै बंगलादेशका खेलहरू सह–आयोजक श्रीलंकामा सार्न अनुरोध गरेको जनाएको छ।
बिसिबीका अध्यक्ष अमिनुल इस्लामसहित वरिष्ठ पदाधिकारीहरू बैठकमा सहभागी थिए। आइसिसीले प्रतियोगिताको तालिका पहिल्यै सार्वजनिक भइसकेको भन्दै अडान पुनर्विचार गर्न भने पनि बिसिबी आफ्नो निर्णयमै कायम राखेको छ।
यसअघि पनि बंगलादेशका खेल सल्लाहकार आसिफ नज्रुलले विश्वकपका लागि भारत जान तयार नभएको बताएका थिए। बिसिबीका उपाध्यक्ष शकावत होसैनले ‘हामी आफ्नो निर्णयमा एक इन्च पनि पछाडि हट्दैनौँ, भारत जाने कुरा हुँदैन,’ भन्दै अडान दोहोर्याए।
समय कम रहेकाले दुवै पक्षबीच छलफल जारी रहने बताइएको छ। तर हालसम्म बंगलादेशको निर्णय परिवर्तन भएको छैन। नेपाल र बंगलादेश एकै समूहमा छन्।
The post टि ट्वान्टी विश्वकप – भारत नजाने बंगलादेशको अडान कायमै first appeared on हाम्रो खेलकुद.