npl.977 Nepal News Stream

KHASOKHAS logo KHASOKHAS

किन गर्यो एयरबसले हजारौँ विमान ग्राउन्डेड गर्ने निर्णय ?

भवानी प्रसाद पाण्डे 1 day ago

एयरबसका हजारौँ विमान ग्राउन्डेड हुने भएका छन् । विमानमा गम्भीर सौर्य विकिरणले उडान नियन्त्रण कम्प्युटरमा प्रभाव पार्न सक्ने समस्या फेला परेपछि विमान निर्माता एयरबसले आफ्ना हजारौँ विमान ग्राउन्डेड गर्ने निर्णय गरेको हो ।

एयरबसले विमानलाई अस्थायी रूपमा ग्राउन्डेड गर्ने आदेश दिएको छ । यसले विश्वभरका उडानहरूमा ढिलाइ र अवरोध सिर्जना गरिरहेको छ ।

अनुमान अनुसार, करिब ६,००० ए३२० सिरिजका विमानहरू यस समस्याबाट प्रभावित छन् । जुन एयरबसको विश्वव्यापी फ्लीटको करिब आधा हिस्सा हो । तीमध्ये अधिकांश विमान करिब तीन घण्टा लाग्ने सरल सफ्टवेयर अपडेटपछि पुनः उडानमा फर्कन सक्ने बताइएको छ ।

बेलायतको विमान नियामकले अपडेट प्रक्रियाका कारण “केही अवरोध र उडान रद्द” हुन सक्ने चेतावनी दिएको छ ।

यो समस्या अक्टोबरमा अमेरिकाबाट मेक्सिकोसम्म उडिरहेको ए३२० विमानले अचानक उचाइ गुमाएपछि गरिएको गहिरो अनुसन्धानबाट एयरबसले पत्ता लगाएको हो ।

जेटब्लु एयरवेजको त्यो उडान फ्लोरिडामा आकस्मिक अवतरण गरिएको थियो, जसमा कम्तीमा १५ जना घाइते भएका थिए ।

कम्पनीले ए३१८, ए३१९, तथा ए३२१ मोडेलहरू पनि यही समस्याबाट प्रभावित रहेको पुष्टि गरेको छ ।

करिब ५,१०० विमानमा सफ्टवेयर अपडेटमार्फत समस्या समाधान गर्न सकिने जनाइएको छ ।

तर बाँकी ९०० पुराना विमानमा भने कम्प्युटर नै फेर्नुपर्ने भएकाले ती विमान आवश्यक मर्मत पूरा नभएसम्म यात्रु बोक्न पाउने छैनन् । कम्प्युटर उपकरणको उपलब्धताका आधारमा यो प्रक्रियाको समय फरक पर्न सक्छ ।

एयरबसले यसबाट यात्रु र एयरलाइन्सहरूलाई “सञ्चालनमा अवरोध” पुग्ने स्वीकार गर्दै क्षमा मागेको छ । यो समस्या अमेरिकामा थ्याङ्क्सगिभिङको यात्रुहरूको भीडको समयमा देखिएको छ ।

अमेरिकन एयरलाइन्सका ३४० विमान प्रभावित भएका छन् । तर पनि अधिकांश अपडेट दुई दिनमै पूरा हुने अपेक्षा गरिएको छ । डेल्टा एयरलाइन्सले भने यसको प्रभाव कम हुने बताएको छ ।

बेलायतको सिभिल एभिएशन अथोरिटीका नीतिनिर्देशक टिम जोनसनले समस्या समाधानका लागि गरिएको यो कारबाही “अत्यन्तै दुर्लभ” भए पनि विश्वकै उच्च विमान सुरक्षा स्तरका कारण यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन् ।

समस्या विमानको उचाइ (एलिभेसन) गणना गर्ने सफ्टवेयरसँग सम्बन्धित रहेको बताइएको छ ।

एयरबसका अनुसार उच्च उचाइमा सूर्यबाट आउने तीव्र विकिरणका कारण यस सफ्टवेयरका डेटा बिग्रन सक्ने पाइएको हो ।

यही कारणले अक्टोबरमा ए३२० विमानले आकस्मिक रूपमा उचाइ गुमाएको थियो । कम्पनीले यो घटना अहिलेसम्म एक पटक मात्र भएको जनाएको छ ।

Read more news from KHASOKHAS

Explore by Source or Category