राष्ट्रका नाममा राष्ट्रपति पौडेलको सम्बोधन : निर्वाचन सफल पार्नु साझा काम र ऐतिहासिक दायित्व
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रुपमा हुन गइरहेको निर्वाचनलाई सफल बनाउन सबैसँग आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैसँग आग्रह गरेका हुन्। उनले निर्वाचनलाई सफल बनाउनु सबैको साझा काम र ऐतिहासिक दायित्व भएको बताए।
‘यो निर्वाचन हाम्रा लागि पछिल्ला उपलब्धिहरूको रक्षा गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता हो। त्यसैले यो निर्वाचनलाई सफल बनाउनु हाम्रो साझा काम र ऐतिहासिक दायित्व पनि हो,’ उनले भने, ‘म सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारमाध्यम र सम्बन्धित निकायहरूलाई निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पूर्ण प्रतिबद्ध रहन आग्रह गर्दछु।’
राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षा, सामाजिक न्यायको प्रवर्धन र विकासको यात्रालाई अझ सुदृढ बनाउने संकल्पका साथ निर्वाचनमा सहभागी हुन आह्वान गरेका छन्।
‘निर्वाचन हाम्रो राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रुपमा हुन गइरहेको छ। यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र होइन, यो संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर पनि हो,’ उनले भनेका छन्, ‘हामीले सुशासन, सामाजिक न्याय, उत्तरदायी शासन र सेवा प्रवाहका क्षेत्रमा अझै काम गनुपर्ने छ। मलाई विश्वास छ, आगामी निर्वाचनले त्यही भावधारालाई संस्थागत गर्दै लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्नेछ।’
राष्ट्रपति पौडेलले निर्वाचनले जेनजीहरुले अगाडि सारेको सुशासन, पारदर्शिता र जवाफदेहिताको माग पूरा गर्ने विश्वास व्यक्त गरे।
‘निर्वाचनले निरंकुशताविरुद्ध लामो संघर्ष र बलिदान गरेको अघिल्ला पुस्ता र नवयुवाहरूको सुशासनको माग, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा पूरा गर्नेछ,’ उनले भने, ‘निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढंगले परिभाषित गर्ने छ र नयाँ उचाइमा पुर्याउने छ भन्नेमा म विश्वस्त छु।’
यसअघि सोमबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीले देशबासीका नाममा सम्बोधन गर्दै आफ्नो र देशको भविष्यको फैट्ठला गर्नका लागि काम छोडेर मतदानमा सहभागी हुन अपिल गरेकी थिइन्।
The post राष्ट्रका नाममा राष्ट्रपति पौडेलको सम्बोधन : निर्वाचन सफल पार्नु साझा काम र ऐतिहासिक दायित्व appeared first on BIZMANDU.