PalikaNews
तटबन्ध निर्माणपछि सुरक्षित बन्यो कुतियाकवर
कञ्चनपुर, – वर्षौंदेखि बाढी र कटानको समस्याले पीडित दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर बस्ती जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि सुरक्षित बनेको छ । पूर्वतर्फ महाकाली र उत्तरतर्फ जोगबुढा नदीको दोसाधमा अवस्थित यो बस्ती हरेक वर्ष वर्षायाममा डुबान र कटानको चपेटामा पर्दै आएको थियो। अहिले भने ८१६ मिटर लामो तटबन्ध निर्माण सम्पन्न भएपछि स्थानीयले ठूलो राहत महसुस गरेका छन् ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले गत आर्थिक वर्षमा जोगबुढा नदीमा तटबन्ध निर्माण गरेपछि बस्तीमा बाढीको त्रास हटेको स्थानीयवासी बताउँछन् । वर्षायाम सुरु हुनासाथ विस्थापनको तयारी गर्नुपर्ने बाध्यता अब हटेको भन्दै यहाँका बासिन्दाले यसलाई दीर्घकालीन समाधानतर्फको महत्वपूर्ण कदमका रूपमा लिएका छन् ।
स्थानीय खडक बुढाका अनुसार विगतमा नदी कटानका कारण बिघौँ जग्गा महाकाली नदीमा समाहित भइसकेको थियो। बाढीको डरले वर्षायाममा दोधारा बसाइँ सर्नुपर्ने अवस्था अब अन्त्य हुने अपेक्षा गरिएको छ । उनले महाकाली नदीतर्फ करिब ४०० मिटर तटबन्ध निर्माण अझै बाँकी रहेको उल्लेख गर्दै उक्त खण्डमा पनि संरचना बनेमा डुबान र कटानको समस्या पूर्ण रूपमा समाधान हुने विश्वास व्यक्त गरे ।
दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले तटबन्ध निर्माणपछि कुतियाकवर बस्ती सुरक्षित बनेको पुष्टि पारे । उनका अनुसार जोगबुढा नदीका अन्य जोखिमयुक्त क्षेत्रमा पनि तटबन्ध निर्माण कार्य अगाडि बढाइएको छ, जसले समग्र बाढी नियन्त्रणमा सहयोग पुर्याउनेछ । विगतमा सबैभन्दा बढी प्रभावित मानिएको यस बस्तीमा नेपाली सेनाले ‘सेफ हाउस’ निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ ।
विसं २०२२ सालदेखि बसोबास रहँदै आएको कुतियाकवरमा करिब डेढ सय परिवार बस्दै आएका थिए । महाकाली र जोगबुढा नदी बस्ती पस्न थालेपछि एक सयभन्दा बढी परिवार विस्थापित भइसकेका छन्। तटबन्ध निर्माणपछि पलायन रोकिने र विस्थापित परिवार फर्किने आशा स्थानीयले व्यक्त गरेका छन् ।
जोगबुढा नदीमा तटबन्ध निर्माणका लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले गत चैत २५ गते रु पाँच करोड १६ लाख ६७ हजारमा शङ्कर कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८२ चैत २५ भित्र ८१६ मिटर लामो तटबन्ध सम्पन्न गर्नुपर्ने व्यवस्था थियो, जसअनुसार काम सम्पन्न भएको जनाइएको छ ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना महेन्द्रनगरका प्रमुख रञ्जनराज भट्टराईले कञ्चनपुरमा महाकाली, जोगबुढा, दोदा नदी तथा कैलालीको मोहना कुटिया क्षेत्रमा समेत नदी नियन्त्रणका काम भइरहेको जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा स्रोत सहमति लिएर ठेक्का सम्झौता गरिएका योजनाहरू अन्तिम चरणमा पुगेका छन्, तर सम्पन्न गर्न करिब रु १० करोड बजेट अभाव देखिएको छ । आवश्यक थप बजेटका लागि प्रक्रिया अघि बढाइएको छ ।
दोधारा चाँदनी सुक्खा बन्दरगाहस्थल महाकाली नदी छेउमा छ लेनको पक्की सडक निर्माण भइसकेको भए पनि महाकाली नदीमा बनेका केही तटबन्ध कमजोर भएकाले मर्मतसम्भार आवश्यक छ । बजेट अभावका कारण मर्मतकार्य अघि बढ्न नसकेको आयोजनाले जनाएको छ ।
समग्रमा, जोगबुढा नदीमा तटबन्ध निर्माणसँगै कुतियाकवर बस्तीले दशकौँदेखिको बाढी त्रासबाट आंशिक मुक्ति पाएको छ। बाँकी संरचना निर्माण र मर्मतसम्भार कार्य समयमै सम्पन्न भएमा यस क्षेत्रको दीर्घकालीन बाढी नियन्त्रण र सुरक्षित बसोबासको आधार अझ सुदृढ हुने अपेक्षा गरिएको छ।