Sutra News
कांग्रेस विभाजनपछि पहिलोपटक ओलीले मुख खोले
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसभित्र पछिल्ला दिन देखिएको आन्तरिक संकट जस्तै घटना आफ्नो पार्टीभित्र पनि घटाउने प्रयास भएको दाबी गरेका छन्।
बिहीबार ४२औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा लिखित ‘जेलभित्रका संघर्ष’ पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै ओलीले एक वर्षअघि नै महाधिवेशन गरेर पार्टीभित्र फैलाइएको ‘भ्रम र हल्ला’ चिरेको दाबी गरे।
‘कांग्रेस पार्टीमा अहिले जे भइरहेको छ, हाम्रो पार्टीमा पनि ठ्याक्कै त्यही गर्न खोजिएको थियो,’ ओलीले भने, ‘एक वर्षअघि नै महाधिवेशन गरेर हामीले त्यो हल्लाको खेल समाप्त गर्यौँ।’
कांग्रेस सभापति शेरबहादुर देउवामाथि केन्द्रित निष्कासन र कारबाहीको प्रसंगतर्फ संकेत गर्दै ओलीले आफ्नो पार्टीमा पनि बलजफ्ती कारबाहीको प्रयास भएको बताए।
‘शेरबहादुर देउवालाई अहिले जसरी जबर्जस्ती निष्कासन गरिएको कुरा भइरहेको छ, त्यस्तै त हाम्रो पार्टीमा पनि गर्न खोजिएको थियो,’ ओलीले भने, ‘जिम्मेवार हुनुपर्छ, कारबाही हुनुपर्छ भनेर अनुहार अगाडि राखेर हिँड्न नमिल्ने अवस्था बनाउने प्रयास गरिएको थियो।’