एसीसी यू-१९ प्रिमियर कप : च्याम्पियन बन्ने लक्ष्यसहित आज यूएईसँग भिड्दै नेपाल
काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ सोमबार आयोजक यूएईसँग नेपाल भिड्दैछ।
उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ। नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो। यूएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन्। प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ।
सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने छन्।
तेस्रो स्थानका लागि सोमबार नै मलेसिया र ओमान खेल्नेछन्। प्रतियोगितामा १४ टोली सहभागी थिए। यू-१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ।
The post एसीसी यू-१९ प्रिमियर कप : च्याम्पियन बन्ने लक्ष्यसहित आज यूएईसँग भिड्दै नेपाल appeared first on BIZMANDU.