npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

नेपाल न्युज 2 hours ago

म्याग्दी। म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक छाएको छ ।

जिल्लामा बाहुलता रहेको मगर समुदायले माघेसङ्क्रान्ति र साउनेसङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पसङ्ख्यक छन्त्याल समुदायले माघेसङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन् ।

नेपाल मगर सङ्घ म्याग्दीका अध्यक्ष खम थापामगरले साउने सक्रान्तिलाई हिउँद र माघेसङ्क्रान्तिलाई बर्खा सुरू भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको बताए ।

“प्रकृतिका पुजारी मगर समुदायले साउनेसङ्क्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गर्दछन्”, उनले भने, “माघेसङ्क्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ ।”

यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । मगर बस्तीमा माघे र साउनेसङ्क्रान्तिमा भेला भएर नाचगान गर्ने, पुख्र्यौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन रहेको छ ।

चेलीबेटीहरू तरुल र सेलरोटी, फलफूल लिएर माघेसङ्क्रान्तिमा माइतीघर जान्छन । यो पर्व मनाउन सहर, बजार र विदेशबाट मगर समुदाय जन्मथलोमा फर्किएका अन्नपूर्ण गाउँपालिका–७ टिकोटकी टिका तिलिजा पुनले बताइन् ।

चाडपर्वले आफन्तजन र साथीभाइसँग भेटघाट हुने अवसर जुराएको उहाँले बताउनुभयो । माघेसङ्क्रान्ति पर्वको अवसरमा मगर बस्तीहरुमा खेलकुुद तथा सांस्कृतिक मेला आयोजना भएका छन् ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पर्ने म्याग्दीको सदरमुकाम बेनी बजारमा २०० वर्षअघि बस्ती बसेदेखि माघेसङ्क्रान्तिको अवसरमा मेला लाग्ने चलन रहेको स्थानीयवासीसमेत रहेका बेनी नगरपालिकाका पुर्वप्रमुख हरिकुमार श्रेष्ठले बताए । उनका अनुसार चामल, कोदो, भाँगो, डोका, डाली, ठेका, घ्यू, तामा, फलामबाट बनेका सामग्री बिक्री गर्न वरपरका मानिसहरू बेनीको माघेसङ्क्रान्ति मेलामा आउने गर्दथे ।

बेनीस्थित कालीगण्डकी नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । समय, परिवेश र जीवनशैलीमा आएको परिवर्तनसँगै बेनीमा हुने मेलाको स्वरुप पनि फेरिएको छ । पछिल्लो समयमा यहाँ मेला र महोत्सव आयोजना गरेर पुरानो परम्परालाई निरन्तरता दिँदै संरक्षण र प्रवद्र्धनमा जोड दिइएको छ ।

हरेक तीन÷तीन वर्षमा स्थानीय उत्पादन, कला, संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ महोत्सव आयोजना गरिदै आएको छ । सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिले महोत्सव नहुने वर्षमा माघेसङ्क्रान्ति मेला सञ्चालन गर्दै आएको छ । यस वर्ष बुधबारदेखि बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रदर्शनी सुरु भएको छ।

बेनीमा परम्परागत रुपमा लाग्ने माघेसङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय खाना, कला संस्कृतिको संरक्षण र सम्वद्र्धन, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन, प्रतिभा पहिचानका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको समितिका सभापति अम्बिका श्रेष्ठले बताइन्।

Read more news from नेपाल न्युज

Explore by Source or Category