npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

दोहोरो मतदान गरे २५ हजार जरिबाना

Saral Patrika 1 day ago

काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान र प्रचारप्रसार सम्बन्धी नियमहरूमा कडाइ गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै कुनै पनि मतदाताले एकभन्दा बढी पटक मतदान गरेमा २५ हजार रुपैयाँसम्म जरिबाना हुने चेतावनी दिएको छ ।

निर्वाचनको निष्पक्षता कायम राख्न एउटै व्यक्तिले विभिन्न स्थान वा बहानामा दोहोरो मतदान गर्न नपाउने कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा लागू गर्न आयोगले निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिता अनुसार अहिले प्रचारप्रसार निषेधको अवधि (मौन अवधि) सुरु भइसकेको छ । यो अवधिमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारले सभा, सम्मेलन, गोष्ठी वा अन्तरक्रिया गर्न पाउने छैनन् ।

निर्वाचन आयोगले आचारसंहिता अनुगमन अधिकृतहरूलाई यसको सूक्ष्म निगरानी गर्न र उल्लङ्घन गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ ।

यसैगरी, सञ्चार माध्यमहरूलाई पनि यो अवधिमा कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार नगर्न सचेत गराइएको छ ।

सामाजिक सञ्जाल वा अन्य कुनै पनि विद्युतीय माध्यमबाट मत माग्ने वा प्रचार गर्ने कार्यलाई समेत आचारसंहिताले पूर्ण रूपमा निषेध गरेको छ । आयोगले स्वच्छ, स्वतन्त्र र मर्यादित निर्वाचन सम्पन्न गराउन सबै सरोकारवाला पक्षलाई जिम्मेवार बन्न अपिल गरेको छ ।

Read more news from Saral patrika

Explore by Source or Category