npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

ओडीआईमा नेपालको निराशाजनक स्थिति, लिग-२ मा ‘जादु’ नगरे ओडीआई मान्यता नै जोखिममा

Mukunda Ghimire 6 hours ago

काठमाडौं। २० खेल खेल्दा मात्रै ५ वटामा जित। ८ वटा टोली सहभागी लिगमा सातौँ स्थानमा।

क्रिकेट विश्वकप लिग-२ मा यो हो नेपालको हालको स्थिति। टी-२० फर्म्याटमा ३ पटक विश्वकप खेलेर फर्किएको नेपाली टोलीको वास्तविकता लिग-२ ले देखाइरहेको छ।

लिग-२ को अघिल्लो साइकलमा अन्तिम अवस्थामा जादुयी प्रदर्शन गरेर नेपालले एकदिवसीय मान्यता जोगाएको थियो। त्यसबेलामा साइकलमा पछिल्ला १२ मध्ये ११ खेलमा नेपालले जादुयी जित निकाल्न सफल भएको थियो। अझ विश्वकपको ग्लोबल क्वालिफायरसम्म खेलेको थियो।

लिग-२ का नतिजाले धेरै हिसाबले नेपाली क्रिकेटको भविष्य कोर्छन्। लिग-२ को शीर्ष चारमा स्थान बनाए सिधै विश्वकप छनोट खेल्न पाउनेछ। शीर्ष ४ भित्र रहन नसके बाटो अफ्ठेरो बन्नेछ ओडीआई मान्यता जोगाउनका लागि। यसका लागि च्यालेन्ज लिगबाट शीर्षमा रहेर आउने टोलीसँग प्लेअफ खेल्नुपर्नेछ।

च्यालेन्ज लिगबाट आएका टोलीहरूसँग खेलेर शीर्ष दुईमा रहँदै ओडीआई जोगाउनु पर्ने हुन्छ। अघिल्लो साइकलमा लिग-२ खेलेको पपुवा न्युगिनी यसैमा असफल हुँदा एकदिवसीय मान्यता जोगाउन असफल भएको थियो। च्यालेन्ज लिगबाट पनि जर्सी, पपुवा न्युगिनीजस्ता टोली आउने भएकाले विश्वकपमा इटलीसँग हारेर फर्किएको नेपालका लागि कम चुनौती भने हुने छैन।

लिग मा निराशाजनक स्थिति: घरेलु मैदानबाट पुनगरामनको खोजी

लिग-२ मा ८ टोली हाल प्रतिस्पर्धामा छन्। यी मध्ये ३६ अंक बनाएको अमेरिका शीर्षमा, ३० अंक बनाएको स्कटल्याण्ड दोस्रोमा, २८ अंक बनाएको स्कटल्याण्ड तेस्रोमा र २४ अंक बनाएको ओमन चौथो स्थानमा छन्।

नेपाल कहाँ छ? १२ अंक बनाएर सातौँ स्थानमा। नेपाल भन्दा पछाडि १० अंक बनाएको यूएई छ। पाँचौँ र छैटौं स्थानमा क्रमश २१ र १९ अंक बनाएका क्यानडा र नामिबिया छन्। नेपालले आफूभन्दा अघि रहेको नामिबियालाई उछिन्नमात्रै पनि ४ वटा खेलमा लगातार जित निकाल्नु पर्ने हुन्छ।

अझ शीर्षको अमेरिकालाई भेट्न १२ वटा खेलमा जित निकाल्नु पर्ने हुन्छ। जबकी यो साइकलमा नेपालले २० खेल खेल्दा बल्ल ५ वटामा जित निकालेको छ।

विश्वकपमा केही आशा र निराशा लिएर फर्किएको नेपाल अब एकदिवसीय फर्म्याटमा स्वीच हुँदैछ। अर्को साताबाट नेपालले घरेलु मैदानमा ओमन र यूएईविरुद्ध खेल्दैछ। यी ४ मध्ये सबै खेलमा जित निकाले बल्ल नेपाल पाँचौँ स्थानमा उक्लनेछ।

तर, नेपालले घरेलु मैदानको फाइदा उठाउनेमा पनि शंका गर्ने ठाउँ छन्। लिग-२ को सुरुवात नै नेपालले घरेलु मैदानबाट गरेको थियो। जसमा नेदरल्याण्ड्स र नामिबियाविरुद्ध खेल्दा ४ मध्ये तीन खेलमा नेपाल पराजित भएको थियो।

नेपाली पूर्व क्रिकेटर सन्जम रेग्मीले विश्वकप चलिरहँदा यसतर्फ इङ्कित गर्दै एकदिवसीय फर्म्याटमा जोड दिनुपर्ने बताएका थिए।

‘सबैभन्दा पहिला अलराउन्डर धेरै भएर टिमको सन्तुलन बिग्रिएको छ। टी-२० भन्दा ५० ओभरमा धेरै असर गरेको छ टीमलाई। पहिला हामीले ओडीआई स्टाटस पाउन क्वालिफाई गर्नुपर्छ ५० ओभरको विश्वकपका लागि पनि,’ उनले भनेका छन्, ‘टी-२० स्टाटसका लागि क्वालिफाई गर्नु पर्दैन अटोमेटिक हुन्छ। खाली टी-२० विश्वकपका लागि मात्र छनोट गर्नुपर्छ।’

जय ट्रफी : सीमितलाई अवसर!

नेपाली क्रिकेट टोलीको हालसम्मको उपलब्धि टी-२० फर्म्याटमा धेरै छ। ओडीआई फर्म्याटमा भने नेपालले ब्याटिङमा संघर्ष गरिरहेको छ। लिग-२ का खेलमा नेपालका लागि ५० ओभर पूरा खेल्न नै धाउन्न हुँदै आएको छ। अझ, नेपाली क्रिकेटमा धाउन्न टी-२० फर्म्यटमै छ।

नेपाली क्रिकेटको फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण पूरा भइसकेको छ। यसमा नेपाली र विदेशी खेलाडीको प्रदर्शनसँगै घरेलु खेलाडीको एक्सपोजर पनि राम्रो छ। तर, क्रिकेट विकासको मेरुदण्ड लामो फर्म्याटको क्रिकेजमा हुन्छ। भारतजस्ता क्रिकेटका ठूला देशहरूले आईपीएलसँगसँगै घरेलु क्रिकेटमा रणजी ट्रफी, विजय हजारे ट्रफीजस्ता संरचनाहरू छन्।

नेपालमा लामो फर्म्याटका प्रतियोगिता छैनन्? जवाफ हो : छन्। पहिलो ५० ओभरको प्रधानमन्त्री कप। यसमा सात प्रदेशको टोली र तीन विभागीय टोलीहरूले प्रतिस्पर्धा गर्ने गर्छन्। तर, यो असाध्यै छोटो समयको र वर्षमा एकपटकमात्र हुने गर्दा खासगरी घरेलु खेलाडी धेरै लाभान्वित हुन सकेका छैनन्। भलै, नेपाली क्रिकेटको मेरुदण्ड यही हो।

यसबाहेक नेपालको घरेलु फर्म्याटमा एकमात्र मल्टीडे प्रतियोगिता हो : जय ट्रफी। प्रधानमन्त्री कपका शीर्ष ४ टोलीले यो प्रतियोगिता खेल्छन्। सीमित टोलीलाई मात्र अवसर दिँदा राष्ट्रिय टोलीमा अवसर खोजिरहेका खेलाडीलाई अवसर नमिल्ने क्रिकेटका जानकार नै बताउँछन्।

लुम्बिनी प्रादेशिक क्रिकेट संघका निवर्तमान अध्यक्ष सञ्जय गुरुङ सीमित टोलीलाई मात्र अवसर दिने गरी आयोजना गरिने यो प्रतियोगिता त्रुटिपूर्ण रहेको प्रतियोगिताको अघिल्लो दिन नै बताएका थिए।

‘यो प्रतियोगिता पुनः एक पटक गत वर्षझैँ प्रधानमन्त्री कपको सेमिफाइनलमा पुग्ने टोलिको बीचमा नै सीमित हुने भयो,’ उनले भनेका थिए, ‘तर, सोही प्रधानमन्त्री कपमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने सूचीमा रहेको टप १५ खेलाडी मध्ये ८ जना ब्याटर, ८ जना बलर र ९ जना अल राउन्डर खेलाडीहरूलाई बाहिर राखेर दुई दिवसीय प्रतियोगिता आयोजना गर्नु आफैंमा गम्भीर नीतिगत त्रुटि होइन र?’

एकदिवसीय मान्यता जोगाउनु केवल खेलाडीको मात्र जिम्मेवारी नभएर सम्पूर्ण संरचनाको परीक्षा भएको उनको बुझाइ छ। त्यसका लागि घरेलु संरचना र राष्ट्रिय आवश्यकताबीच सन्तुलन अनिवार्य बनाउनु पर्ने उनको तर्क छ।

‘हाम्रो टिमले खेलेको अन्तिम लिग २ सीरिजमा निराशाजनक प्रदर्शन गरेको सबैलाई थाहा नै छ, यो बेला हाम्रो प्राथमिकता स्पष्ट हुनुपर्थ्यो- कमजोरी सुधार, संयोजन मजबुत बनाउने, सम्भावना बोकेका नया खेलाडीको मूल्याकंन गर्ने र एकदिवसीय मान्यता जोगाउने रणनीति तय गर्ने,’ उनले तर्क गरेका छन्, ‘तर, निर्णय हेर्दा लाग्छ, वास्तविक समस्याबाट ध्यान मोडेर औपचारिक प्रतियोगितातर्फ ऊर्जा खर्च भइरहेको छ। नभए गत वर्षको प्रधानमन्त्री कपमा राम्रो खेलेका खेलाडीहरूलाई सामेल गरेर पाचौं टोली बनाउनेतर्फ कसैको ध्यान किन गएन?’

उनी दुई दिवसीय प्रतियोगिता नै आवश्यक थियो भने त्यसलाई एकदिवसीय टिमको तयारीसँग जोडेर रणनीतिक रूपमा डिजाइन गर्नुपर्ने बताउँछन्। सम्भावना बोकेका खेलाडीहरूको सहभागिता, स्पष्ट उद्देश्य र मापनयोग्य परिणामविना गरिएको निर्णय नीतिगत अपरिपक्वता जस्तो देखिएको उनी बताउँछन्।

‘नेपाल अहिले एकदिवसीय  मान्यता जोगाउने संवेदनशील चरणमा छ। हरेक खेल, हरेक प्रदर्शन र हरेक रणनीति दीर्घकालीन प्रभाव पार्ने अवस्थामा छ,’ उनी तर्क गर्छन्, ‘यस्तो बेला एकदिवसीयमा सम्भावना बोकेका खेलाडीहरूलाई प्रतिस्पर्धात्मक लामो फर्म्याटमा निरन्तर खेलाएर उनीहरूको टेक्निक, धैर्यता र मानसिक मजबुती सुधार गर्नुपर्ने हो।’

यस्तोमा विभागबाहिर रहेर पनि राम्रो प्रदर्शन गरिरहेका खेलाडीले राष्ट्रिय टोलीको ढोका ढक्ढकाउने अवसर नमिल्ने देखिन्छ।

‘एकदिवसीय मान्यता जोगाउने संवेदनशील समयमा अरु ६ वटा प्रदेशमा रहेका अर्जुन, शेर, देव, मयन, रुपेश, पवन, अनिल, नारायण जस्ता खेलाडीलाई चयन समितिले हेर्न आवश्यक ठानेर उचित सल्लाह दिनु भयो कि नाई? उनीहरू कुन बाटो हिडेर नेपाली एकदिवसीय टोलीको ढोकासम्म पुग्नेछन्?’ उनले सोधेका छन्।

नेपाल-ओमन-यूएई सिरिज : युद्धले बन्नसक्छ अनिश्चित

नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा ओमन र युएईसँग लिग-२ को खेल खेल्दैछ। यही मार्च १० देखि २० सम्म यो सिरिज हुनेछ। तर, खाडी क्षेत्रमा जारी युद्धको स्थितिले यो सिरिज होला या नहोला भन्ने टुंगो भने छैन।

यूएई जारी साइकलमा सबैभन्दा तल्लो स्थानको टोली हो। तर, जारी साइकलमा २ पटक यूएईसँग नेपालले प्रतिस्पर्धा गर्दा दुवैमा हार व्यहोरेको छ। त्यस्तै, चौथो स्थानको ओमनसँग पनि दुई खेल हुँदा एउटा ओमनले जितेको थियो भने अर्को वासआउट भएको थियो।

एकदिवसीयमा संघर्ष गरिरहेको नेपाली टोलीमा यसपटक पनि धेरै परिवर्तन छैन। नेपाल प्रिमियर लिग र जय ट्रफी दुवैमा राम्रो प्रदर्शन गरेका देब्रेहाते शीर्ष क्रमका ब्याटर इशान पाण्डे २० सदस्यीय प्रारम्भिक टोलीमा आएका छन्। त्यसबाहेक ब्याटिङमा राम्रो जमेका आशुतोष घिरैया, दीपक बोहोरा, शंकर राना, तृतराज दास जस्ता ब्याटर प्रारम्भिक प्रशिक्षणमा छैनन्।

दुई दिवसीय फर्म्याटमा शीर्ष रन बनाउने १० मध्ये ४ खेलाडीमात्र राष्ट्रिय टोलीमा नियमित पर्दै आएका खेलाडी हुन्। त्यस्तै, सर्वाधिक विकेट लिने ५ मध्ये २ खेलाडीमात्र राष्ट्रिय टोलीमा नियमित छन्।

उसो त नेपाल प्रिमियर लिगमा राष्ट्रिय टोलीका रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीलाई छाड्ने हो भने अन्यको प्रदर्शन औशत वरपरमात्र थियो। शेर मल्लले यही विश्वकपमा मात्र डेब्यु गरेका हुन्।

घोषणा गरेका २० खेलाडी

रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, अर्जुन साउद, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलसन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, साहब आलम, शेर मल्ल, ईशान पाण्डे, आकाश चन्द र हेमन्त धामी

The post ओडीआईमा नेपालको निराशाजनक स्थिति, लिग-२ मा ‘जादु’ नगरे ओडीआई मान्यता नै जोखिममा appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category