npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

कृषकलाई सुन्तला ढुवानी सधैंको समस्या

पालिका ब्यूरो 1 week ago

दमौली – देवघाट गाउँपालिका–३ का किसानहरू वर्षौँदेखि सुन्तला उत्पादनबाट ठूलो आम्दानी गर्दै आए पनि ढुवानी समस्याले उनीहरूको मुख्य पिरलो बढाएको छ । छिपछिपे, बाटक, छापस्वाँरा, दगरा र लुङ्ग्रिङ क्षेत्रबाट मात्रै करोडौँ रुपैयाँ बराबरको सुन्तला उत्पादन हुने गरेका छन् । तर, बजारसम्म पु¥याउने क्रममा किसानले वर्षैभरि समस्या झेल्दै आएका छन् ।

कृषक रणबहादुर मगरका अनुसार कालीगण्डकी, सेतीमादी र त्रिशुली नदीले घेरिएको वडामा कुनै पनि नदीमा पक्की पुल नहुँदा ढुवानी झन् कठिन हुने गरेको छ । “मुख्य आम्दानी सुन्तलाबाटै हो, तर पुल र बाटो नभएकैले बजार पु¥याउन सकस पर्छ,” मगरले बताए। यस वर्ष बोटमा रोग लागेर उत्पादन घटे पनि आय भने गत वर्षको तुलनामा ३० प्रतिशतले बढेको उनले जानकारी दिए ।

कृषक प्रेमबहादुर मगरले यस वर्ष मंसिरको पहिलो सातादेखि नै सुन्तला बजार पठाउन थालेको बताए । प्रति क्रेट १,४०० रुपैयाँमा बिक्री भइरहेको सुन्तला बजारमा पु¥याउन बाटो र पुलको अभाव, र भरियामार्फत ढुवानी गर्दा खर्च दोब्बर हुने गरेको उनले बताए। नाल्दी र गाईघाटमा पुल नहुँदा किसानले कोटा, बैदी, साराङघाट हुँदै दमौलीमार्ग भएर काठमाडौंसम्म सुन्तला पठाउने गरेका छन् ।

यस्तै, किसान भीमबहादुर रानाले सिधा सडक अभावले घुमाउरो बाटो प्रयोग गर्नुपरेको र ढुवानी भाडा दोब्बर पर्ने गुनासो गरे। केही किसानले मुग्लिन–नारायणगढ सडकखण्डको गाईघाटसम्म जीपमा ल्याएर, त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तरेर राजमार्गसम्म पु¥याउने गरेका छन्। छापस्वाँरा र दगराका किसानले ग्राभिटी रोपवे प्रयोग गरी बुद्धसिंह मार्गसम्म पु¥याएर त्यसपछि दमौली हुँदै काठमाडौं पठाउने गरेका छन्।

ढुवानी चुनौतीकै बीच देवघाट–३ को लुङ्ग्रिङ क्षेत्रका केही किसानले एकै घरबाट वर्षमा २० लाख रुपैयाँसम्मको सुन्तला बिक्री गर्ने गरेको स्थानीयहरूले बताएका छन्। सुन्तलासँगै अदुवा, केरा, अन्य फलफूल तथा पशुपन्छीका दाना–चोकरसमेत ग्राभिटी रोपवेकै सहायताले राजमार्गसम्म ल्याइने गरेको छ।

Read more news from PalikaNews

Explore by Source or Category