npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

प्रचण्डको यात्रामा को छुटे, को जोडिए ?

इन्द्र कमल रोक्का 18 hours ago

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नाम मात्र नभएर नेपाली कम्युनिस्ट आन्दोलनका एक ब्राण्ड जस्तै हुन, जसले लामो कम्युनिस्ट आन्दोलनमा सहभागी बनेर जनयुद्दकाे नेतृत्व गर्दै शान्तिपूर्ण राजनीतिमा आए। जनयुद्धको जगमा नेपाली राजनीति व्यवस्था नै परिवर्तन गर्न ठूलो भूमिका निभाए ।

शिक्षण पेशाबाट राजनीतिमा आएका प्रचण्ड लडाकु जनयुद्धका सर्वोच्च कमाण्डर हुँदै सर्वाहाराका नेताका रुपमा स्थापित मात्र भएनन् संविधान सभामार्फत नेपालको संविधान जारी गर्नमा प्रमुख जस्तै भूमिका निर्वाह गर्ने व्याक्ति समेत बने। संविधानमा संघीयता, धर्मनिरपेक्षता,सवावेशीता लगायत उत्पीडित पिछडिएका वर्ग,क्षेत्र र समुदायका हक र अधिकार स्थापित गर्दै शाषित शोषित र उत्पीडनमा रहेकालाई राजनैतीक अधिकार दिलाउन सतिसाल भएर उभिए । जनयुद्धमा टाउकाको मूल्य तोकिँदा समेत युद्ध विस्तार गरेका मृत्युसंग नडराउने प्रचण्ड जनयुद्ध संगै शान्ति प्रक्रिया संगै २०६२/०६३ सालको जनआान्दोलनबाट २४० वर्षिय जहानियाँ राजतन्त्रलाई घुँडा टेकाउन सफल भए । वर्तमान राज्यव्यवस्थामा ३ दशक यता देशको राजनीति परिदृश्य लगभग उनकै पेरिफेरीमा घुमेको दख्न सकिन्छ । जनयुद्ध पछि शान्तिपूर्ण राजनीतिमा आएका प्रचण्ड तीनपटकसम्म नेपाल सरकारको प्रधानमन्त्री बन्ने अवसर पाए।

राजनीतिमा चतुर खेलाडी मानिने उनी आफ्नो राजनीतिक यात्रामा ६ पटकसम्म नाम परिवर्तन गर्दै प्रचण्ड बने । उनले नाम मात्र परिवर्तन गरेनन् विचारधारालाई विकसित गर्दै पार्टी समेत परिवर्तन गरे तर नेतृत्व भने आफैंले सम्हाले । उनले निर्वाचनहरुमा क्षेत्र समेत परिवर्तन गर्दै आइरहेका छन् । उनी यसपालिको निर्वाचनमा रुकुमपूर्वबाट प्रतिनिधि सभा सदस्यमा चुनावी मैदानमा रहेका छन् ।

उनको यात्रामा विश्वास पात्र मानिएका धेरै नेता र सहयात्रीले साथ छाडे। साथ छाड्नेहरु कोही पुनः पश्चताप गर्दै जोडिन पुगे भने कोही अलग्गै बाटो अंगालेर हिँडे । उनी जतिले साथ छाड्छन् त्यसको दोब्वर जोड्दै समेत अगाडि बढे । मास्टरी पेशा छाडेर विद्रोह मार्फत राजनीतिमा आएका प्रचण्ड अहिले नेपाली कम्युनिस्ट पार्टीका संयोजक छन्।

उनको राजनीति रहस्यमही रहेको छ । उनीसँग जनयुद्धकालदेखि सहयात्रा गरेका धेरै नेता समयक्रममा अलग हुँदै गएका छन्। वैचारिक मतभेद, शान्ति प्रक्रियापछिको रणनीति, नेतृत्व संघर्ष तथा पार्टी एकता–विघटनका चरणमा माओवादी आन्दोलनले पटक–पटक विभाजन भोगेको छ । जनयुद्ध हाँक्ने मुख्य कमाण्डर प्रचण्डका ३५ सहयात्रीमध्य करिब १५ जना विभिन्न समयमा प्रचण्डसँग अलग भएका मानिन्छन्।

जनयुद्ध सुरुवातमा २०५१/५२ तिर नेकपा (एकता केन्द्र) भित्रै दीर्घकालीन सशस्त्र संघर्षको विषयमा मतभेद देखिएको थियो। नारायणकाजी श्रेष्ठ समूह जनयुद्धको विपक्षमा उभिँदा प्रचण्ड, मोहन वैद्य, बाबुराम भट्टराई र रामबहादुर थापा ‘बादल’ लगायत नेताहरू जनयुद्ध पक्षमा रहे । यसलाई सानो विभाजन मानिए पनि यही पृष्ठभूमिले सशस्त्र आन्दोलनको आधार तयार ग-यो।

शान्ति प्रक्रियापछि २०६५/६६ तिर पार्टीभित्र असन्तुष्टि चर्किन थाल्यो। मोहन वैद्य ‘किरण’ले नेतृत्वको बाटो ‘संशोधनवादी’ भएको आरोप लगाउँदै २०६५ मा समानान्तर दस्तावेज सार्वजनिक गरे। नेत्रविक्रम चन्द ‘विप्लव’ पनि सोही धारमा उभिए। असन्तुष्टि औपचारिक विभाजनमा नपुगे पनि आन्दोलनभित्र स्पष्ट ध्रुवीकरण सुरु भयो।

२०६९ जेठ ४ मा माओवादी आन्दोलनको ठूलो विभाजन भयो। मोहन वैद्य ‘किरण’ले पार्टी छाडेर नेकपा–माओवादी गठन गरे।
जसलाई माओवादी आन्दोलनको सबैभन्दा ठूलो विभाजन मानिन्छ । विभाजनका बेला १४९ सदस्यीय केन्द्रीय समितिमध्ये करिब ४५ जना नेताहरू वैद्यसँगै गएका थिए, जसलाई ‘किरण समूह’ वा ‘ड्यास माओवादी’ भनेर चिनिन्थ्यो। वैद्यसँगै विद्रोह गर्ने प्रमुख नेताहरूमा रामबहादुर थापा ‘बादल’, नेत्रविक्रम चन्द ‘विप्लव’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’, हीराबहादुर छन्त्याल, देव गुरुङलगायत थिए। गोपाल किरातीसहित केही अन्य केन्द्रीय तहका नेताहरू पनि प्रारम्भिक चरणमा वैद्य समूहमा आबद्ध भएका थिए। विभाजनको मूल कारण प्रचण्ड नेतृत्वप्रति ‘संशोधनवाद’ र ‘अवसरवाद’को आरोप, शान्ति प्रक्रिया र संविधानसभामार्फत संसदीय बाटो अवलम्बनलाई ‘क्रान्तिको अन्त्य’ ठान्नु तथा जनयुद्धका उपलब्धि कमजोर भएको दाबी थियो। देव गुरुङ पुन प्रचण्ड नेतृत्वतिरै फर्के।

२०७५ सालमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि गोपाल किराँतीले एकतालाई अस्वीकार गर्दै माओवादी केन्द्र पुनर्गठनको पक्षमा अलग धार समाते। उनले एकतालाई वैचारिक विचलनको रूपमा व्याख्या गर्दै आफ्नै समूहको नेतृत्व जारी राखेका छन्।

यसैबीच, हरिबोल गजुरेल २०६९ को वैद्य नेतृत्वको विभाजनमा सहभागी भएका थिएनन् र प्रचण्डकै साथमा रहे। पछिल्लो समय (२०७९/८० तिर) उनले पार्टीको कार्यशैली र जिम्मेवारी बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै सचिवालयबाट राजीनामा दिएका छन् र ‘नोट अफ डिसेन्ट’ राख्दै आएका छन्, तर औपचारिक रूपमा पार्टी फुटाएर अलग समूह बनाएका छैनन्।

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीभित्र पनि समयक्रममा थप विभाजनहरू भए । २०७१ मंसिरमा नेत्रविक्रम चन्द ‘विप्लव’ले वैद्य नेतृत्वलाई ‘अकर्मण्य’ भएको आरोप लगाउँदै छुट्टै पार्टी गठन गरे। त्यसपछि २०७३ जेठमा रामबहादुर थापा ‘बादल’को नेतृत्वमा ठूलो समूह वैद्यबाट अलग भई पुनः प्रचण्ड नेतृत्वको माओवादीमा फर्कियो। भूपेन्द्र न्यौपानेजस्ता नेताहरू पनि विभिन्न समयमा वैचारिक र राजनीतिक कारणले बादल समूहसँग वा अन्य धारसँग जोडिँदै मूलधार राजनीतितर्फ फर्किएका थिए। यसरी माओवादी आन्दोलनभित्र एकता र विभाजनको सिलसिला निरन्तर चलिरहेकै देखिन्छ।

वैद्य समूहले संविधानसभा निर्वाचन बहिष्कार गर्दै पुनः क्रान्तिकारी मार्गको वकालत गरेको थियो। तर पछि उक्त पार्टीभित्रै पनि पुनः विभाजन भए, जसअन्तर्गत नेत्रविक्रम चन्द ‘विप्लव’ २०७१/७२ तिर अलग भई आफ्नै पार्टी गठन गर्न पुगे। हाल २०८२ सम्म आइपुग्दा मोहन वैद्य ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’सँग आबद्ध छन्, यद्यपि प्रारम्भिक चरणका धेरै सहयात्रीहरू विभिन्न धारमा विभाजित भइसकेका छन्।

२०७२ असोजमा डा. बाबुराम भट्टराईले एकीकृत नेकपा (माओवादी) परित्याग गरी नयाँ शक्ति पार्टी गठन गरे। संविधान जारी भइसकेपछि आन्दोलनको दिशा र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनले छुट्टै राजनीतिक यात्रा सुरु गरेका थिए । भट्टराई जनयुद्धकालका प्रमुख वैचारिक नेतामध्ये एक मानिन्थे। नेतृत्वप्रति दोष लगाउँदै पुरानो राजनीतिले देशमा काम नगर्ने भन्दै भट्टराईले वैकल्पिक शक्तिको रुपमा नयाँशक्ति गठन गरेर अगाडि बढे ।

२०७५/७६ तिर एमालेसँग पार्टी एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो। विडम्बना एकता दीर्घकालीन हुन सकेन । २०७८/७९ तिर नेकपा विभाजन भएपछि रामबहादुर थापा ‘बादल’ एमालेमा प्रवेश गरे। त्यस्तै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीलगायत नेताहरू पनि माओवादी केन्द्रबाट अलग भई एमालेतर्फ लागे।

२०७९/८० पछि पनि आन्तरिक मतभेद कायम रह्यो। २०८२ भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनले नेपाली राजनीतिमा ठूलै उछाल ल्याइदियो। विभिन्न पार्टीहरु विभाजन र एकताका पक्षमा उभिए। नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा जनयुद्दका कमाण्डर जनार्दन शर्माले प्रचण्डसँग असहमति जनाउँदै अलग अभियान चलाएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरे। पछिल्लो चरणमा केही केन्द्रीय सदस्य, जस्तै ओम शर्माले पनि प्रचण्डको साथ छाडेका छन्। जेन जी आन्दोलन सम्म आउँदा प्रचण्डलाई जनयुद्द लडेका र विश्वाशिला पात्रहले साथ छाडेपनि उनले २६ भन्दा धेरै कम्युनिस्ट पार्टी र घटकहरुलाई एकीकृत गरी नेपाली कम्युनिस्ट पार्टीको निर्माण गरेर चुनावी अभियानमा लागेका छन् । उनीसंग पुर्वप्रधानमन्त्री झलनाथ खनाल,माधवकुमार नेपाल लगतयतका कम्युनिस्ट आन्दोलनका मुख्य मुख्य नेताहरु जोडिएका छन् ।

यस अवधिमा प्रचण्डले मोहन वैद्य र विप्लवसहितका नेतासँग एकताको पहल गरेका भए पनि स्थायी रूपमा एकता कायम हुन सकेको छैन।

समग्रमा, २०५१ देखिको जनयुद्ध र ०६२/०६३को जनआन्दोलन सम्मको सशस्त्र संघर्षदेखि २०८२ सम्म आइपुग्दा माओवादी आन्दोलनले पटक–पटक विभाजन भोगेको छ । वैचारिक मतभेद, शान्ति प्रक्रियाको मूल्याङ्कन, नेतृत्वको शैली र सत्ता समीकरणका कारण प्रचण्डका प्रमुख सहयात्रीहरू समयक्रममा अलग हुँदै नयाँ–नयाँ राजनीतिक धार निर्माण गर्दै आएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २०६५ पुस २९ गते औपचारिक रूपमा आफ्नो नाम परिवर्तन गरी एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राखेको थियो। यो नाम परिवर्तन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी) र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ नेतृत्वको नेकपा (एकता केन्द्र मसाल) बीच पार्टी एकता भएपछि भएको हो।

दुई पक्षबीच एकीकरण सम्पन्न भएसँगै ‘एकीकृत’ शब्द थपेर एनेकपा (माओवादी) नामकरण गरिएको थियो। त्यसअघि २०५२ देखि २०६५ सम्म पार्टी नेकपा (माओवादी) नाममै जनयुद्ध र त्यसपछिको राजनीतिक प्रक्रियामा सक्रिय थियो। पछि २०७३ जेठ ६ मा विभिन्न माओवादी घटकबीच एकता भएपछि पार्टीको नाम नेकपा (माओवादी केन्द्र) राखियो। त्यसैगरी २०७५ जेठ ३ मा नेकपा (एमाले) सँग एकता गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरिएको थियो, तर सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलापछि उक्त एकता बदर भई पार्टी पुनः नेकपा (माओवादी केन्द्र)मा फर्किएको थियो। जेन जी आन्दोलन पछि फेरि प्रचण्डले विभिन्न घटक मिलाएर नेपाली कम्युनिस्ट पार्टी गठन गरेका छन् ।

जनयुद्ध अगाडिका प्रचण्ड

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक यात्रा २०५२ फागुन १ मा जनयुद्ध सुरु हुनुभन्दा झन्डै दुई दशकअघि नै सुरु भएको देखिन्छ। वि.सं. २०११ मंसिर २९ मा कास्कीको ढिकुरपोखरीमा जन्मिएका प्रचण्ड चितवनमा हुर्किए र रामपुर कृषि क्याम्पसबाट कृषि विज्ञानमा स्नातक गरेपछि केही समय शिक्षण र ग्रामीण विकासका काममा संलग्न रहे। २०२८ सालतिर पुष्पलाल समूहसँग जोडिँदै उनले कम्युनिस्ट राजनीतिमा पाइला राखे। २०३१ मा मोहन विक्रम सिंह र निर्मल लामाको नेतृत्वमा रहेको नेकपा (चौथो महाधिवेशन) मा सक्रिय बनेका उनी २०३५ सम्म आइपुग्दा पूर्णकालीन भूमिगत कार्यकर्ता बने। २०३८ मा पार्टी विभाजनसँगै नेकपा (मशाल)मा आवद्ध भएका प्रचण्ड २०४१ मा केन्द्रीय सदस्य र २०४२ मा पोलिटब्युरो सदस्यमा उक्लिए। २०४५ को ‘सेक्टर काण्ड’ पछि महासचिव मोहन वैद्यले राजीनामा दिएसँगै २०४६ मा प्रचण्ड महासचिव बने।

२०४७ मा विभिन्न कम्युनिस्ट घटकबीच एकता भई बनेको नेकपा (एकता केन्द्र)को पनि उनले महासचिवको जिम्मेवारी सम्हाले। २०४८ को आमनिर्वाचनमा संयुक्त जनमोर्चा नेपालमार्फत सहभागी हुँदै ९ सिट जिते पनि पार्टीभित्र संसदीय बाटो र सशस्त्र संघर्षबीच तीव्र वैचारिक बहस चर्कियो। २०५१ मा एकता केन्द्र विभाजित भएपछि प्रचण्ड–किरण समूहले नेकपा (माओवादी) गठन गर्यो र सशस्त्र क्रान्तिको तयारी तीव्र बनायो। २०५२ माघ २१ मा बाबुराम भट्टराईमार्फत सरकारलाई ४० सूत्रीय माग बुझाइए पनि सम्बोधन नभएपछि २०५२ फागुन १ गते जनयुद्ध घोषणा गरियो। यसरी २०२८ देखि २०५२ सम्मको चरण प्रचण्डका लागि संगठन निर्माण, वैचारिक संघर्ष, विभाजन–एकता र अन्ततः सशस्त्र आन्दोलनको निर्णयसम्म पुग्ने निर्णायक राजनीतिक यात्रा बन्यो।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जन्म, नाम परिवर्तन र भूमिगत जीवनसँग जोडिएका विवरणहरू विभिन्न स्रोतमा केही फरक–फरक रूपमा उल्लेख भए पनि मूल तथ्यहरू प्रायः मिल्दाजुल्दा देखिन्छन्। वि.सं. २०११ मंसिर २९ मा कास्कीको ढिकुरपोखरीमा जन्मिएका उनको बाल्यकालीन नामबारे स्रोतअनुसार भिन्नता पाइन्छ- धेरै नेपाली स्रोतले ‘छविलाल दाहाल’ उल्लेख गर्छन् भने अन्तर्राष्ट्रिय तथा विकिपिडिया जस्ता स्रोतमा ‘घनश्याम दाहाल’ नाम देखिन्छ। एसएलसी परीक्षा फाराम भर्दा उनले ‘पुष्पकमल दाहाल’ नाम अपनाएको र यही नाम नागरिकता, पासपोर्ट लगायत आधिकारिक कागजातमा कायम रहेको तथ्य स्थापित छ। भूमिगत राजनीतिक जीवन (२०३० को दशकदेखि २०६३ सम्म) मा उनले विभिन्न छद्मनाम प्रयोग गरेको उल्लेख पाइन्छ। ‘कल्याण’ नाम प्रारम्भिक पार्टी गतिविधिमा प्रयोग भएको भनाइ केही नेपाली विश्लेषणमा देखिए पनि सीमित प्रमाण भेटिन्छ। २०४६ पछि महासचिव बनेसँगै ‘प्रचण्ड’ उनको प्रमुख युद्धनामका रूपमा स्थापित भयो, जसले २०५२ मा सुरु भएको जनयुद्धपछि राष्ट्रिय–अन्तर्राष्ट्रिय पहिचान बनायो। जनयुद्धकालमा ‘विश्वास’ नाम गोप्य सर्कुलर र आन्तरिक दस्तावेजमा प्रयोग भएको दाबी पाइन्छ भने ‘निर्माण’ नामको उल्लेख केही विश्लेषणमा भए पनि ठोस दस्तावेजी प्रमाण सीमित छन्। २०६३ को शान्ति प्रक्रियापछि भने उनी औपचारिक रूपमा ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’’ नाममै सार्वजनिक राजनीतिमा स्थापित भएका छन्। यसरी विभिन्न नामहरूको प्रयोगले उनको गोप्य क्रान्तिकारी चरणदेखि खुला संसदीय राजनीतिसम्मको संक्रमणलाई प्रतिबिम्बित गर्छ।

नाम मात्र फेरेनन्, पार्टी नै फेरे !

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक यात्रालाई हेर्दा उनले नेतृत्व गरेको कम्युनिस्ट धारको पार्टी संरचना विभाजन, एकीकरण र नाम परिवर्तनका अनेक चरणबाट गुज्रिएको देखिन्छ । नेपाली मिडियामा प्रायः उनलाई “पार्टीको नाम ६ पटक फेरेका नेता” भनेर चित्रित गरिन्छ, जसको आधार उनले विभिन्न समयमा नेतृत्व गरेको वा पुनर्गठन गरेको पार्टीहरूको नाम परिवर्तन हो। २०४६ पछि महासचिव बनेसँगै उनी नेकपा (मशाल) को प्रमुख नेतृत्वमा देखिए । २०४७/४८ मा विभिन्न वाम घटकबीच एकता भई नेकपा (एकता केन्द्र) गठन हुँदा उनी महासचिवकै भूमिकामा रहे। २०५१ मा एकता केन्द्र विभाजनपछि नेकपा (माओवादी) गठन भयो, जसले २०५२ मा जनयुद्ध सुरु ग-यो र पछि प्रचण्ड अध्यक्ष बने। शान्ति प्रक्रियापछि २०६५/६६ तिर पार्टीको नाम एकीकृत नेकपा (माओवादी) रह्यो। त्यसपछिका चरणमा नेकपा (माओवादी केन्द्र) नाम स्थापित भयो, र २०७५ जेठ ३ मा एमालेसँग एकता गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरियो, जहाँ प्रचण्ड कार्यकारी अध्यक्ष बने। २०७७ फागुनमा सर्वोच्च अदालतको फैसलापछि उक्त एकता बदर भई पार्टी पुनः माओवादी केन्द्रकै नाममा फर्कियो। यसरी प्रमुख विभाजन र एकीकरणका आधारमा छ वटा मुख्य नाम परिवर्तनको गणना गरिन्छ,अहिले जेनजी आन्दोलन पछि फेरि एकीकृत समाजवादी सहित २६ पार्टी मिलाएर नेपाली कम्युनिस्ट पार्टी निर्माण गरेका छन् । यद्यपि साना समायोजन र नयाँ एकता प्रयासलाई समेट्दा संख्या फरक पर्न सक्छ । उनी बाम शक्ति एकैठाउँमा उभिएर देश विकास र समृद्धिको यात्रामा अगाडि बढ्न पटक-पटक अन्य घटकहरुलाई आग्रह समेत गर्दै आएका छन् ।

Read more news from Kendrabindu

Explore by Source or Category