कुलमान घिसिङलाई प्रगतिशील लोकतान्त्रिक पार्टीको समर्थन
काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई प्रगतिशील लोकतान्त्रिक पार्टीले पूर्ण समर्थन गर्ने निर्णय गरेको छ। उक्त पार्टीको गोकर्णेश्वर नगर कमिटीले एक विज्ञप्ति जारी गर्दै घिसिङको पक्षमा उभिने औपचारिक घोषणा गरेको हो।
नगर कमिटीले मुलुकको आर्थिक समृद्धि, सुशासन र उज्यालो भविष्यका लागि सक्षम नेतृत्वको आवश्यकता औँल्याउँदै घिसिङको विकासप्रेमी छवि र राष्ट्र निर्माणप्रतिको समर्पणलाई साथ दिने जनाएको छ।
घिसिङप्रति देखिएको जनचाहनालाई कदर गर्दै पार्टीले आफ्ना सम्पूर्ण समिति सदस्य, समर्थक र शुभेच्छुकहरूलाई चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानमा सक्रिय हुन निर्देशन समेत दिएको छ।
विज्ञप्तिमार्फत फागुन २९ गते हुने मतदानमा घिसिङको चुनाव चिह्न ‘बलको चिम’ मा मतदान गरी उनलाई भारी मतान्तरले विजयी बनाउन अपिल गरिएको छ।
उक्त निर्णय सार्वजनिक गरिएको जानकारीमा नगर कमिटीका अध्यक्ष नीर कार्की (रवी), उपाध्यक्ष सुनील लामा र सचिव तारानाथ पुरीले हस्ताक्षर गरेका छन्।