npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

पालिका ब्यूरो 1 day ago

बागलुङ  : बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ अब सिधा सडक सञ्जालमार्फत जोडिएका छन् । निसीखोला गाउँपालिका–५ निसेलढोर हुँदै पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तकसेरा गाउँ सडक पहुँचमा आएसँगै दुई जिल्लाबीचको भौगोलिक दूरी मात्र होइन, सामाजिक र आर्थिक दूरी समेत घट्ने अपेक्षा गरिएको छ ।

दुवै जिल्लाबाट समानान्तर रूपमा सडक निर्माण भइरहेको अवस्थामा निसेलढोर नजिकको ‘मनिमर्फेस’ क्षेत्रमा सडक जोडिएको ढोरपाटन नगरपालिका–९ का वडा अध्यक्ष खिमबहादुर घर्ती मगरले जानकारी दिनुभयो। ढोरपाटन सिकार आरक्ष कार्यालयबाट अनुमति नपाउँदा लामो समयसम्म रोकिएको निर्माण कार्य अनुमति पाएपछि अघि बढेको र अन्ततः सडक सञ्जाल जोड्न सफल भएको उनको भनाइ छ ।

६८ किलोमिटरमा पुगिने तकसेरा

यसअघि बुर्तिबाङ बजारदेखि निसेलढोरसम्म सडक पुगे पनि त्यसभन्दा माथिल्लो खण्डमा सडक विस्तार हुन सकेको थिएन । अहिले भने बुर्तिबाङ–ढोरपाटन ३१ किलोमिटर र ढोरपाटन–तकसेरा ३७ किलोमिटर गरी कुल ६८ किलोमिटर दूरी पार गरेर सिधै तकसेरा पुग्न सकिने भएको छ ।

यसअघि तकसेराका स्थानीयवासीले मध्यपहाडी लोकमार्ग हुँदै रुकुमको काँक्री क्षेत्रबाट लामो र घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता थियो। नयाँ सडक सञ्चालनमा आएपछि यात्रा समय र खर्च दुवै घट्ने विश्वास गरिएको छ ।

स्थानीय अर्थतन्त्र र पर्यटनमा टेवा

ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले लामो प्रयासपछि ढोरपाटन–तकसेरा सडक जोड्न सफल भएको बताए । सिकार आरक्ष क्षेत्रभित्र अनुमति प्रक्रियाका कारण वर्षौँसम्म काम रोकिए पनि अहिले निर्माण सम्पन्न हुनु उपलब्धिपूर्ण भएको उनको भनाइ छ ।

चालु आर्थिक वर्षमा निसेलढोरतर्फ सडकको ‘ट्र्याक’ खोल्न रु १२ लाख ५० हजार विनियोजन गरिएको थियो । सोही बजेटमार्फत निर्माण कार्य सम्पन्न गरिएको जनाइएको छ ।

सडक सञ्जाल विस्तारसँगै तकसेरावासीलाई बागलुङ, पोखरा र काठमाडौँसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ । यसले स्थानीय कृषि तथा पशुजन्य उत्पादनलाई बजारसम्म पुर्‍याउन मद्दत गर्नेछ भने ढोरपाटन सिकार आरक्ष र आसपासका पर्यटकीय क्षेत्रसम्म पहुँच विस्तार भई पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने सम्भावना देखिएको छ ।

भौगोलिक रूपमा दुर्गम मानिने क्षेत्र अब सडकमार्फत जोडिँदा शिक्षा, स्वास्थ्य र व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीय जनप्रतिनिधिहरूको विश्वास छ ।

Read more news from PalikaNews

Explore by Source or Category