मध्यपूर्वको तनावः अन्तराष्ट्रिय बजारमा तेल र सुनको भाउ उँभोतिर, सेयर बजार उँधोतिर, नेपालसम्म देखिनेछ सिधा प्रभाव !
काठमाडौँ । मध्यपूवी देशमा भएको अमेरिकी आक्रमण र त्यसपछि उत्पन्न तनावले तेल र ग्यासको भाउ ह्वात्तै बढेको छ । विश्वका सबैभन्दा ठूला निर्यातकर्तामध्ये एक कतार इनर्जीले आफ्ना संरचनामा सैन्य आक्रमण भएपछि उत्पादन रोकेको बताएको छ भने यहि कारण प्राकृतिक ग्यासको मूल्य लगत्तै झण्डै ५० प्रतिशतले बढेको छ ।
तेलको भाउ बढोत्तरीको असर नेपालमा पनि देखिएको छ । मध्यपूर्वमा देखिएको तनावको असर भारतीय तेल बजारमा देखिएको छ र नेपाल आउने तेलको भाउ पनि लगत्तै बढेर आएको छ ।
यता मध्यपूर्वमा देखिएको तनावका कारण अन्तराष्ट्रिय बजारमा सेयरको भाउ घट्न सुरु भएको छ । तनावका बीच लन्डनमा, एफटीएसई १०० सूचकांकले घटेको थियो ।
मध्यपूर्वी आकाशमार्ग अवरुद्ध भएपछि ब्रिटिश एयरवेजको मालिक कम्पनीका सेयरहरू सबैभन्दा बढी घटे । बार्कलेज, स्ट्यान्डर्ड चार्टर्ड र एचएसबीसी जस्ता बैंकहरूको सेयर मूल्य पनि घटेको छ ।
ऊर्जा मूल्य दीर्घकालीन रूपमा बढिरहेमा मुद्रास्फीति बढ्ने र त्यसले केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने सम्भावना कम हुने चिन्ताले बजार सिधा प्रभावित भएको छ । युरोपका प्रमुख सेयर बजारहरूमा अझ ठूलो गिरावट देखिएको छ ।
यता, अनिश्चितताका बेला सुरक्षित लगानी मानिने सुनको मूल्य भने अन्तराष्ट्रिय बजारमा ह्वात्तै बढेको छ । यसले नेपाली बजारमा पनि सुनको भाउ अझै बढाउने देखिएको छ ।