Sutra News
टर्कीले बनायाे मानवरहित फाइटर जेट, रडारको मद्दतले पत्ता लगाएर गर्नसक्छ प्रहार
काठमाडाैं । टर्कीले मानवरहित लडाकु जेट किजिलेल्माको सफल परीक्षण गरेको छ। सिएनएनका अनुसार टर्कीको कम्पनी बायकर्सले विकास गरेको किजिलेल्माले पहिलो पटक आकाशमै तीव्र गतिमा उडिरहेको ड्रोनलाई लक्ष्य गरी प्रहार गरेर नष्ट गरेको हो।
परीक्षणका क्रममा किजिलेल्माले एफ–१६ लडाकु विमानसँग फर्मेशन फ्लाइट गरी रडारको मद्दतले टाढा उडिरहेको लक्ष्य पत्ता लगायो र निरन्तर निगरानी गरिरह्यो। त्यसपछि यसमा जडान गरिएको स्वदेशी गोकदोगान मिसाइल प्रक्षेपण गरिएको थियो, जसले लक्ष्य ड्रोनलाई आकाशमै नष्ट गरिदियो।
किजिलेल्माको एक विशेषता भनेको यसको अत्यन्तै कम रडार सिग्नेचर हो अर्थात् यसले दुश्मनलाई टाढैबाट पत्ता लगाउन सक्छ तर आफैँ भने रडारमा सजिलै देखिँदैन।
बायकर्स हाल विश्वका प्रमुख ड्रोन निर्यातकर्तामध्ये एक मानिन्छ। कम्पनीले २०२३ र २०२४ मा हरेक वर्ष १.८ अर्ब डलर बराबरको ड्रोन निर्यात गरेको छ।
यसको कुल आम्दानीको ९० प्रतिशत निर्यातबाट आउने गर्छ। पछिल्ला चार वर्षदेखि बायकर्स टर्कीको सबैभन्दा ठूलो फाइटर जेट निर्माताको रूपमा कायम रहँदै आएको छ। एजेन्सीबाट