npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

ब्रिटिस कलेजबाट दुबई पढ्न गएका विद्यार्थीको रुवाबासी, १६ लाख बुझाएर पढेका किन गर्दैछन् ‘रिभोल्ट’?

Sabin 4 hours ago

काठमाडौं। गत मंसिर १५ गते ब्रिटिस कलेजले दुबईमा अध्ययनका लागि पठाएका विद्यार्थीहरू रुवाबासी गर्दै नेपाल फर्किए। ‘ब्याचलर्स अफ हस्पिटालिटी म्यानेजमेन्ट’ (बिएचएम)को लेभल ४ का लागि उनीहरू भदौ २३ गते दुबई पुगेका थिए।

अध्ययन शुल्क,बीमा, भिसा, बस्न र खानका लागि भनेर झन्डै १६ लाख रुपैयाँ बुझाएका थिए उनीहरुले। तर, दुबई पुगेपछि उनीहरूले नेपालमा जसरी ‘ब्रिफिङ’ भएको थियो, त्यस्तो केही पाएनन्। न त भनिएजस्तै थियो उनीहरू पढ्न गएको कलेज। दुबईस्थित ‘विलविच इन्स्टिच्युट हस्पिटालिटी एन्ड म्यान्जेमेन्ट’ मा डिप्लोमा पढाइ हुने भन्दै नेपाली विद्यार्थीको भर्ना लिइएको थियो।

सो कलेज ‘एकेडेमिक’ नभइ ‘भोकेसनल’ मान्यता प्राप्त कलेजमात्र रहेको खुल्यो। फलस्वरूप उनीहरूले तालिम पाए, तर त्यसको प्राज्ञिक मान्यता मिलेन। प्राज्ञिक मान्यतासहितको शैक्षिक प्रमाणपत्र पाउन नसकेपछि मात्र यो कुरा बाहिर आयो।

ब्रिटिस कलेजले उनीहरूलाई एक वर्ष नेपालमा पढाएर ‘इन्टर्न’ गर्न भन्दै दुबईमा पठाउने गरेको खुलेको छ। दुबई अध्ययनका लागि पठाए पनि ब्रिटिस कलेजले नेपालमा शिक्षा मन्त्रालयबाट अनुमति लिएको देखिँदैन।

‘हामीले जनही १६ लाख रुपैयाँ तिरेका हौं। दुबईको कलेज भनेको त इन्स्टिच्युटमात्र रहेछ। त्यसैले फर्किन बाध्य भएका हौं,’ दुबईबाट फर्किएका एक विद्यार्थीले सुनाए।

+++

झापाकी प्रियंका नेपाल एकवर्षदेखि ब्रिटिस कलेजमा पढिरहेकी थिइन्। सन् २०२० मा ग्लोबल कलेज अफ म्यानेजमेन्टबाट प्लस टू पूरा गरेर केही वर्ष ‘ग्याप’मा रहेकी उनी उक्त कलेजमा होटेल म्यानेजमेन्ट विषयमा स्नातक तहको अध्ययनका लागि भर्ना भइन्।

उनले पहिलो वर्षका लागि साढे २ लाख रुपैयाँ बुझाएकी थिइन्। उनलाई पनि दुबई, बेलायतदेखि अमेरिकासम्मको सपना देखाइएको थियो। अहिले दुबईबाट विद्यार्थी फर्किएपछि उनी कलेजविरुद्ध अभियानमा सहभागी भइन। अन्य अभिभावक र विद्यार्थी पनि आन्दोलनमा उत्रिए। आक्रोशित भिडले कलेज तोडफोड समेत गर्‍यो।

विद्यार्थी र अभिभावकहरूले भन्ने गरेको ‘कलेजको बेथिति’ सार्वजनिक भएपछि शिक्षा मन्त्रालयले पनि यस विषयमा चासो देखायो। उपसचिव परशुराम तिवारीको नेतृत्वमा छानबिन समिति बन्यो। समितिले कलेजले ठगी गरेको भन्दै रकम फिर्ता गर्नमात्र भनेन, स्पष्टीकरणका लागि पनि पत्राचार गर्‍यो।

‘एक वर्षका लागि तिरेको रकम पनि ब्याचलरको मुख्यविषय होइन रहेछ। अहिले पनि हामीलाई विभिन्न मानिस लगाएर त्रास देखाउने काम भइरहेको छ,’ प्रियंकाले बिजमाण्डूसँग भनिन्।

एकातिर पीडित विद्यार्थी कलेजको प्रतिबद्धता र व्यवहारबाट आजित भएर आन्दोलनमा उत्रिए, अर्कातिर त्यसैलाई कमाउने धन्दा बनाउने गिरोह सक्रिय भयो। ब्रिटिस कलेजमा आन्दोलन भएपछि त्यसैको आवरणमा कलेजका संचालकसँग रकम बार्गेनिङ गर्ने जेनजी अभियन्ता पक्राउ परेका छन्। सुदन गुरुङसँग निकट रहेर जेनजी अभियानमा जुटेका काभ्रेपलान्चोकका २८ वर्षीय विवेक ढकाल ब्रिटिस कलेजका संचालकलाई धम्की दिएर ३० लाख रुपैयाँ मागेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो।

दुबईमा अध्ययनका पुगेका केही विद्यार्थी मंसिर १५ गते फर्किएपछि सतहमा देखिएको यो प्रकरण अझै टुंगिएको छैन।

शिक्षा मन्त्रालयले ठगी प्रकरणमा अनुसन्धान गर्न बनाएको समितिले कैफियत देखाउँदै कारबाहीका लागि सिफारिस गरिसकेको छ। सँगै कलेजबाट ठगिएका विद्यार्थीको रकम फिर्ता गर्न समेत निर्देशन दिइएको छ। तर, कलेजले मन्त्रालयको निर्देशनलाई अवज्ञा गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनका अनुसार शिक्षा मन्त्रालयमा नै आएर उनीहरुलाई विद्यार्थीको रकम फिर्ता दिनुपर्ने निर्देशन अहिलेसम्म पालना भएको छैन।

‘समितिको प्रतिवेदनपछि कलेजलाई पत्राचार पनि गरेका छौं। उहाँहरू अझै आउनु भएको छैन। बाहिर बाहिर पैसा दिँदै मिलाउनुभएको सुनेका छौँ। उहाँहरूले यस्तो गर्ने छुट छैन,’ शिक्षा मन्त्री पुनले बिजमाण्डूसँग भने।

निर्देशन नटेर्ने कलेजलाई थप कारबाही गर्ने मन्त्रालयको तयारी छ। अनुमति बिना अध्यापन गराउने विषय मान्य नहुने मन्त्रालयले जनाएको छ। साथै, कलेजले स्नातक तहसम्मका लागि लिएको शैक्षिक कार्यक्रमको अनुमति मन्त्रालयले खारेज गर्ने तयारी गरेको छ। मन्त्रालयको अध्ययन समितिले पनि कलेजको शैक्षिक कार्यक्रम हटाउन सिफारिस गरेको छ।

‘अहिलेसम्म कुनै जानकारी आएको छैन। निर्देशन नमान्ने कलेजलाई हामी अब कारबाहीमा जान्छौँ। साथीहरूले कानुनी प्रक्रिया बुझ्दै हुनुहुन्छ,’ मन्त्री पुनले भने।

ब्रिटिस कलेजले जहाँ पढ्न पठायो त्यहाँको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने थाहा भएपछि मात्रै विद्यार्थी विरोधमा उत्रिएका हुन्।

ब्रिटिस कलेजले स्नातक तहका लागि ४ वर्षे कोर्स बनाएर एक वर्ष नेपालमा र बाँकी दुबई तथा बेलायतमा अध्यापन गराउने भन्दै रकम लिएको विद्यार्थीहरूको दाबी छ। तर, दुबईमा उनीहरूलाई ‘नन-क्रेडिट फाउन्डेसन कोर्स’ अध्यापन गराइएको पाइयो। उक्त कोर्स स्नातक तह अध्ययन गर्नुअघिको ब्रिज कोर्सजस्तै हो, जसको अंकभार स्नातक तहको शैक्षिक प्रमाणपत्रमा देखिँदैन।

के भन्छ कलेज ?

ब्रिटिस कलेजले होटल म्यानेजमेन्टको विषयमा विवाद आएपछि अब भने अध्यायन नगराउने भएको छ। त्यस्तै विद्यार्थीहरुको रकम समेत फिर्ता गरेको दाबी गरेको छ ब्रिटिस कलेजका मार्केटिङ म्यानेजर अमरदीप मण्डलले बताए।

‘मन्त्रालयको पत्र आएको छ। हामीले सुरुमा स्वीकृति नै लिएर पढाएको हौं। अब म्यानेजमेन्टको कोर्स बन्द गर्छौं। जेनजी आन्दोलनपछि दुबईले हामीलाई हेर्ने दृष्ट्रिकोण केही फेरिएकाले विद्यार्थीलाई समस्या परेको हो। तर हामीले त्यसपछि मिलाएका हौं,’अमरदीपले भने।

ब्रिटिस कलेजमा विद्यार्थी ठगिएको बारे थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई पनि पत्राचार गरिएको मन्त्री पुनले जानकारी दिए। तर, सीआइबी प्रमुख एआइजी मनोज केसीले कलेजको नाम नै तोकेर पत्र आएको जानकारी आफूलाई नभएको बताएका छन्।

सीआइबीले दुबईमा विभिन्न इन्स्टिच्युटमा क्रेडिट आवर ट्रान्सफर गरेर अध्यापनको नाममा ठगी गर्ने कन्सल्ट्यान्सीहरु माथि भने अनुसन्धान गरिरहेको छ। पछिल्लो समय केही शैक्षिक परामर्शदाताका नाममा खुलेका कम्पनीहरूले दुबई विद्यार्थी पठाउँदा ठगी गरेको भन्दै उजुरी परिरहेको छ।

‘अहिलेसम्म ४०/४५ जनाको उजुरी आएको छ। त्यसैको आधारमा प्रमाणहरू केलाएर हेरिरहेका छौँ,’एआइजी केसीले भने।

The post ब्रिटिस कलेजबाट दुबई पढ्न गएका विद्यार्थीको रुवाबासी, १६ लाख बुझाएर पढेका किन गर्दैछन् ‘रिभोल्ट’? appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category