npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

‘समावेशी विकास नै दिगो विकास हो भन्ने मान्यतामा सरकार दृढ छ’

नेपालन्युज 9 hours ago

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्की मगर समुदायले मनाउने माघे सकरातीका पर्वका अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा सरिक भएकी छन्।

उनी नेपाल मगर संघसहित विभिन्न संघ-संस्थाको पहलमा काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी बनेकी हुन्। त्यसअवसरमा प्रधानमन्त्री कार्कीले वर्तमान मुलुकको विशिष्ट परिस्थितिमा अझ बढी एकता, सहकार्य र आपसी विश्वासको खाँचो औँल्याइन्।

“आज हामी माघ १ गतेलाई माघी, मकर संक्रान्ति र माघे सकरातीजस्ता विभिन्न नामले पर्व मनाइरहेका छौं। नाम फरक भए पनि यसको आत्मा एउटै हो,” उनले भनिन्‚ “यी पर्वले हामी नेपालीबीच आपसी प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना मजबुत बनाउँदै आएका छन्। वर्तमान मुलुकको विशिष्ट परिस्थितिमा हामीबीच अझ बढी एकता, सहकार्य र आपसी विश्वासको खाँचो छ। माघे सकरातीले हामी सबैलाई एकताबद्ध भएर शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।”

उनले मौलिक संस्कृति र परम्पराको सम्वर्द्धन गर्दै यसलाई पर्यटनसँग पनि जोड्नुपर्ने धारणासमेत राखिन्। “विश्वले नेपाललाई हेर्ने मुख्य कारण दुईवटा छन्- हाम्रो अनुपम प्राकृतिक सौन्दर्य र यहाँ बसोबास गर्ने विविध जातजातिको समृद्ध संस्कार, संस्कृति र जीवनशैली,” उनले भनिन्, ‘प्रकृति र संस्कृति यी दुवै कुरालाई हामीले पर्यटनसँग जोड्नुपर्छ। बहुजातीय र बहुसांस्कृतिक राष्ट्रको रूपमा हामीले हरेक समुदायको पहिचानलाई सम्मान गर्दै त्यसलाई पर्यटनको अभिन्न अंगका रूपमा विकास गर्न आवश्यक छ।”

समावेशी विकास नै दिगो विकास हो भन्ने मान्यतामा सरकार दृढ रहेको पनि उनको भनाइ छ। उनले हाम्रा संस्कृति र परम्परा पनि प्रकृतिसँग अभिन्न रुपमा गाँसिएको बताए। “नेपाली समाज मूलतः प्रकृतिप्रेमी र प्रकृतिवादी हौँ। हामी प्रकृतिलाई भगवान् मानेर पूजा गर्छौं। प्रकृतिको लयअनुसार आफ्ना आचार-व्यवहार र जीवनशैली निर्धारण गर्छौं,” प्रधानमन्त्री कार्कीले भनिन्, “उधौली-उभौलीदेखि माघे सकरातीसम्मका पर्वहरू प्रकृतिसँग हाम्रो गहिरो सम्बन्धका जीवन्त उदाहरण हुन्।”

Read more news from नेपाल न्युज

Explore by Source or Category