npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

काठमाडौँ महानगरका ८३ सामुदायिक विद्यालयमा एकीकृत डिजिटल हाजिरी लागू

पालिका ब्यूरो 2 days ago

काठमाडौं – काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गरेको छ । हालसम्म ८३ विद्यालयका ३६ हजार २८० जनालाई प्रणालीमा समेटिएको शिक्षा विभागले जनाएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलको निर्देशनपछि आन्तरिक जनशक्तिबाट प्रणाली विकास गरी विद्यालयका कर्मचारीलाई तालिम दिइएको हो ।

शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार २०८२ चैत १ देखि विद्यालयमा पठाइने अनुदान तथा निकासा हाजिरी प्रणालीमा आधारित तथ्याङ्कका आधारमा मात्रै उपलब्ध गराइनेछ। प्रणाली प्रभावकारी रूपमा लागू नगरे अनुदान रोक्न सकिने चेतावनी समेत दिइएको छ ।

विद्यालय पूर्वाधार विकासका लागि चालु आर्थिक वर्षमा ३६ करोड रुपैयाँ विनियोजन गरिएको छ । हालसम्म १५ विद्यालयको गुरुयोजना तयार भइसकेको छ भने २३ विद्यालयको विस्तृत परियोजना प्रतिवेदन तयार हुँदैछ ।

यसैबीच, २०८२ को एसईई लक्षित ११ विद्यालयमा विशेष तयारी कक्षा सञ्चालन भइरहेका छन् । आधारभूत शिक्षा परीक्षा (कक्षा ८) चैत ५ गतेदेखि सुरु हुने र बाह्य परीक्षा केन्द्रबाट सञ्चालन गरिनेछ ।

दरबन्दी मिलान २०८२ चैत मसान्तसम्म सम्पन्न गरी नयाँ शैक्षिक सत्र २०८३ बैशाखदेखि शिक्षक व्यवस्थापन गरिनेछ। महालेखा परीक्षकले औँल्याएका बेरुजु चैत १५ भित्र फस्र्योट गर्न निर्देशन दिइएको छ ।

स्मार्ट बोर्ड, अटेन्डेन्स डिभाइस तथा डेक्सवेञ्च खरिद गर्दा प्रचलित कानुन पालना गर्नुपर्नेछ भने खरिद सामग्रीको प्राविधिक परीक्षण अनिवार्य गरिएको छ । महानगरले चालु आवको सबै निकासा २०८३ बैशाख मसान्तभित्र पठाउने र असार २० भित्र खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रधानाध्यापकहरूले विद्यालयमा सीसीटिभी जडान, लेखापाल व्यवस्था, सुरक्षा तथा सरसफाइ कर्मचारी व्यवस्थापन र प्रविधिजन्य पूर्वाधारमा थप लगानीको माग गरेका छन् ।

Read more news from PalikaNews

Explore by Source or Category