PalikaNews
काठमाडौं महानगरले जय बागेश्वरी क्षेत्रका ७५ घर मौलिक स्वरुपमा रूपान्तरण गर्दै
काठमाडौं – काठमाडौँ महानगरपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको जय बागेश्वरी क्षेत्रका ७५ घरलाई मौलिक स्वरुपमा रूपान्तरण गर्ने प्रक्रिया सुरु गरेको छ ।
कामपा–८ मा पर्ने उक्त क्षेत्रमा बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरी ९ करोड ४ लाख ८९ हजार ३ सय ७७ रुपैयाँको सम्झौता गरेर काम अघि बढाइएको काठमाडौँ महानगरपालिकाका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले जानकारी दिए ।
उनका अनुसार यस योजनाअन्तर्गत जय बागेश्वरी मन्दिरदेखि सेतोढोकासम्मको २९० मिटर सडकखण्डको दायाँ–बायाँ रहेका घरहरूको सडकतर्फको मोहडा रूपान्तरण गरिनेछ । ती घरहरूलाई मल्लकालीन वा राणाकालीन वास्तुकलात्मक स्वरुप प्रदान गरिनेछ ।
स्वामित्व व्यक्ति वा संस्थाको भए पनि काठमाडौँ उपत्यकाभित्र ऐतिहासिक कालखण्डमा विकास भएका मल्लकालदेखि राणाकालसम्मका वास्तुशैलीलाई परम्परागत मानिएको उनले बताए । सोही अवधिका वास्तुकलालाई आधार मानेर घरहरूको स्वरुप परिवर्तन गरिनेछ ।
वडा नम्बर ८ का अध्यक्षसमेत रहनुभएका सङ्गतका अनुसार मल्लकालीन शैलीअनुसार घरको पेटी, कार्नेस, बलेँसी, पाखा वा पाली, झिँगटीको छानो जस्ता संरचनात्मक अङ्ग समावेश गरिनेछ। घरको गारोमा प्रयोग गरिएका इँटा बाहिरबाट देखिने गरी निर्माण गरिनेछ भने एकमुखे, तीनमुखे र पाँचमुखे गरी कुँदिएका परम्परागत झ्यालहरू राखिने छन् ।
यस क्षेत्रमा सडकसँग करिब २५० घर जोडिएका छन्। तीमध्ये सडक वा खुला स्थानबाट देखिने घरहरूको अगाडिको भागको स्वरुप परिवर्तन गरिने सङ्गतले जानकारी दिए ।
जय बागेश्वरी क्षेत्रभित्र सेतो ढोका (टुयु ध्वाखा), ढोकासिंह नरसिंह फल्चा, ताम्रेश्वर फल्चा, ताम्रेश्वर महादेव मन्दिर, परम्परागत इनार, ढोका छेँ फल्चा, बच्छलेश्वरी डवली फल्चा, गम्ती महादेव मन्दिर, कुमारी द्यः दुद्ध स्तुप, रामलंका फल्चा, नवग्रह मूर्ति, मठा फल्चा, मृत्युञ्जय महादेव, ब्रह्मा मन्दिर, नरसिंह भगवान मन्दिर, नवदूर्गा फल्चा, नवदूर्गा डवली, जय बागेश्वरी मन्दिर र सुन्धारा लगायत धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वका बहुसंख्यक सम्पदाहरू रहेका छन् ।
यो क्षेत्र लिच्छवीकालीन सहर भएको उल्लेख गर्दै सङ्गतले प्राचीनतालाई जोगाउँदै मौलिक स्वरुप भावी पुस्तामा हस्तान्तरण गर्नु योजनाको मुख्य उद्देश्य रहेको बताए । यसै क्रममा वडाले करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको यःपुखु (मनपर्ने पोखरी) को पुनःनिर्माण कार्यसमेत अघि बढाएको छ ।
काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा वास्तुकलात्मक महत्वका परम्परागत शैलीका निजी तथा संस्थागत भवनहरूको मौलिक स्वरुप संरक्षण गर्ने उद्देश्यले यो कार्यक्रम कार्यान्वयनमा ल्याएको जनाएको छ ।