सूचना प्रविधिको दुरुपयोग रोक्न निर्वाचन आयोग सक्षम छ : कावा प्रमुख आयुक्त भण्डारी
काठमाडौं। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मिथ्या सूचना प्रवाह रोक्न आयोग संवेदनशील भएर काम गरिरहेको बताएका छन्।
निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण भएकाले यसमा गम्भीरतापूर्वक ध्यान दिइएको उनको दाबी छ। एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणाली एवं साइबर सुरक्षासम्बन्धी तालिमको बिहीबार उद्घाटन गर्दै उनले प्रविधिको प्रयोगप्रति आयोग संवेनशील रहेको बताए।
निर्वाचन घोषणा भइसकेपछि मतदाता नामावली संकलन बन्द गर्नुपर्ने कानुनी व्यवस्था अध्यादेशमार्फत संशोधन गरिएपछि राष्ट्रिय परिचयपत्र प्रणालीसँग आयोगको मतदाता नामावली संकलन प्रणाली एकीकृत गरिएको जानकारी दिँदै उनले त्यसले काम सहज भएको बताए ।
सूचना प्रविधिको दुरुपयोग रोक्न आयोग सक्षम उनले बताए। ‘सूचना प्रविधिमार्फत फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति न्यूनीकरणका लागि आयोगको सूचना प्रविधिमा कार्यरत सम्पूर्ण कर्मचारीको भूमिका महत्त्वपूर्ण हुन्छ,’ उनले भने।
आयोगले निर्वाचन प्रक्रिया पारदर्शी, विश्वसनीय र प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग क्रमशः विस्तार गर्दै आएको उनले बताए। मतदाता नामावली संकलन तथा अद्यावधिकका लागि अनलाइन प्रणाली, बायोमेट्रिक विवरण (फोटो, औँठाछाप) प्रयोग गरिएको छ। उम्मेदवार दर्ता, निर्वाचन खर्च विवरण, मतगणनाको प्रारम्भिक नतिजा प्रकाशन र सूचनाको प्रसारणमा डिजिटल माध्यम उपयोग हुने भएकाले प्रणाली दुरुस्त राखिएको जानकारी उनले दिए।
आयोगले वेबसाइट, मोबाइल सन्देश र सामाजिक सञ्जालमार्फत निर्वाचनसम्बन्धी सूचना प्रवाह गर्छ। यद्यपि, साइबर सुरक्षा, प्रविधिको पहुँच, दक्ष जनशक्ति र कानुनी स्पष्टताका आइपरेका चुनौतीहरूमा अझै काम चलिरहेको उनले बताएका छन्।
The post सूचना प्रविधिको दुरुपयोग रोक्न निर्वाचन आयोग सक्षम छ : कावा प्रमुख आयुक्त भण्डारी appeared first on BIZMANDU.