निर्वाचन गराउन कर्मचारी र सुरक्षाकर्मी आज मतदान केन्द्र पुग्दै
काठमाडौँ। फागुन २१ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीहरु आज सोमबार अपराह्नसम्म देशभरका मतदान केन्द्रमा पुग्ने भएका छन्। निर्वाचन आयोगले सबै कर्मचारीलाई तोकिएको केन्द्रमा पुग्न परिपत्र गरेको छ।
दुर्गम र विकट क्षेत्रका मतदान केन्द्रमा सुरक्षाकर्मीसहितको टोली केही दिनअघि नै पुगिसकेको छ। यातायातको सुविधा भएका ठाउँमा भने आजै पुगेर तयारी सुरु गर्न आयोगले निर्देशन दिएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार बेलुकीसम्म सबै मतदान केन्द्रमा टोली पुगिसक्नुपर्ने बताए। केन्द्रमा पुगेपछि कर्मचारीले आजै चारकिल्ला तोकेर मतदान केन्द्रको सूचना टाँस्नुपर्ने उनले जानकारी दिए।
सबै निर्वाचन अधिकृतको कार्यालयबाट सुरक्षाकर्मीको उपस्थितिमा मतदान अधिकृतले निर्वाचन सामग्री बुझिसकेका छन्। मतदान नसकिँदासम्म सुरक्षाकर्मी र कर्मचारीको टोली साथमै रहने व्यवस्था मिलाइएको छ।
आइतबारसम्म विकट क्षेत्रका करिब ३ सय मतदान केन्द्रमा कर्मचारी पुगिसकेको रिपोर्ट प्राप्त भएको छ। सुदूरपश्चिम र कर्णालीका सडक सुविधा नपुगेका क्षेत्रलाई आयोगले प्राथमिकतामा राखेर परिचालन गरेको थियो।
सहरी र तराईका क्षेत्रमा भने आज अपराह्नसम्म कर्मचारी पुग्नेछन्। मतदान अधिकृतको जिम्मामा रहने मतपत्र लगायतका सामग्रीलाई नेपाल प्रहरीले २४ सै घण्टा कडा निगरानी र सुरक्षा दिने निर्देशन पाएको छ।
कार्यविधि अनुसार एउटा वडामा कम्तीमा एउटा मतदान केन्द्र रहनेछ भने एक केन्द्रमा एक हजारभन्दा बढी मतदाता हुने छैनन्। धेरै मतदाता भएको ठाउँमा एउटै स्थलभित्र अलग-अलग केन्द्र तोकिए पनि एकै ठाउँमा सातवटा भन्दा बढी केन्द्र राख्न पाइने छैन।
मतदान केन्द्रमा पुगेपछि अधिकृतले सर्वपक्षीय बैठक डाक्ने र निर्वाचन प्रचारप्रसार रोकिएको सूचना जारी गर्नेछन्। मतदान सकिएपछि मुचुल्का उठाएर निर्वाचन सामग्री र मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा बुझाएपछि मात्र कर्मचारी र सुरक्षाकर्मीको जिम्मेवारी पूरा हुने प्रवक्ता भट्टराईले बताए।