npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

माघे संक्रान्तिका लागि उपत्यकामा साढे १३ लाख केजी तरुल, बजारमा वन तरुल सबैभन्दा महँगो

Sarala Subedi 7 hours ago

काठमाडौं । माघे संक्रान्तिलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका बजारमा साढे १३ लाख केजीभन्दा बढी तरुल भित्रिएको छ। कालीमाटी थोक बजारमा मात्रै पुस महिनाभरि करिब १३ लाख ६१ हजार केजी तरुल तथा अन्य कन्दमूलको कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ।

आपूर्ति बढेसँगै बजारमा विविध किसिमका स्वदेशी तथा आयातित तरुल उपलब्ध भएका छन्, जसमा वन तरुल सबैभन्दा महँगो छ। कालीमाटी बजारमा हात्तीपाइले तरुल, आकाशे तरुल, सिमल तरुल, वन तरुल, घर तरुल, पाताले तरुल, स्कुसको जरा, सखरखण्ड र मुडे तरुलजस्ता कन्दमूल बिक्री हुँदै आएका छन्।

यस वर्ष बजारमा आएको तरुलमध्ये करिब ९२ प्रतिशत स्वदेशी उत्पादन रहेको छ। संक्रान्तिका लागि भारतबाट करिब ८ देखि १० प्रतिशत मात्र तरुल आयात भएको समितिले जनाएको छ।

कालीमाटी बजारमा बिक्रीका लागि राखिएको तरुल


कालीमाटी फलफूल तथा तरकारी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार संक्रान्ति नजिकिँदै गर्दा पछिल्ला केही दिन बजारमा दैनिक डेढ लाख केजीभन्दा बढी तरुल भित्रिएको थियो।

‘संक्रान्तिका लागि आवश्यक परिमाणका तरुल प्रायः आइसकेका छन्, बाटोमा रहेका तरुल पनि बुधबार रातिसम्म बजारमा आइपुग्नेछन्,’ उनले भने।

गत वर्षको तुलनामा यस वर्ष करिब ७०० टन बढी तरुल उपत्यकामा भित्रिएको छ। आपूर्ति बढेकै कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष तरुलको भाउ प्रतिकेजी करिब १० रुपैयाँसम्म सस्तो भएको छ। पहिले माघ १ गतेका लागि मात्र सीमित रूपमा खपत हुने तरुल अहिले बाह्रै महिना मागमा रहने गरेको पनि श्रेष्ठले बताए।

बजारमा उपलब्ध तरुलमध्ये वन तरुल सबैभन्दा महँगो रहेको छ। कालीमाटी थोक बजारमा वन तरुलको मूल्य प्रतिकेजी २०० देखि २५० रुपैयाँसम्म पुगेको छ। त्यसपछि स्कुसको जरा प्रतिकेजी १८० देखि २०० रुपैयाँसम्ममा कारोबार भइरहेको छ।

कालीमाटी बजारमा तरुल किन्दै ग्राहक


अन्य तरुलको थोक मूल्य भने हात्तीपाइले तरुल ७० देखि ८० रुपैयाँ, आकाशे तरुल १०० देखि १२० रुपैयाँ, सिमल तरुल ५० देखि ६० रुपैयाँ, पाताले तरुल ११० देखि १५० रुपैयाँ, सखरखण्ड ५० देखि ८० रुपैयाँ र मुडे तरुल ६० देखि ७० रुपैयाँ प्रतिकेजी रहेको छ। सबैभन्दा सस्तो घर तरुल प्रतिकेजी ४० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ।

उपत्यकामा आएको तरुलमध्ये सुनसरी, सर्लाही, नवलपरासी, धादिङ, गोरखा, मकवानपुर, नुवाकोट, मोरङ र सिन्धुली जिल्लाबाट बढी आपूर्ति भएको छ। संक्रान्तिका लागि देशभरका करिब २३ जिल्लामा उत्पादन भएको तरुल काठमाडौं उपत्यकाका बजारमा पुगेको छ।

The post माघे संक्रान्तिका लागि उपत्यकामा साढे १३ लाख केजी तरुल, बजारमा वन तरुल सबैभन्दा महँगो appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category