कांग्रेस उपसभापति पुष्पा भुसाल भन्छिन् :वैधानिक छौँ विधान मिचिएको छैन, निर्णय उल्टिँदैन
काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित पुष्पा भुसालले पार्टी विधानअनुसार नै सबै प्रक्रिया पूरा भएकाले कुनै पनि अन्यथा निर्णय आउने कल्पना नगरेको बताएकी छन्।
उपसभापति भुसालले विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण अद्यावधिक गर्न पार्टी नेतृत्वसहित निर्वाचन आयोग पुगेको जानकारी दिइन्। उनले पार्टी विधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार आवश्यक सबै कागजात आयोगमा पेश गरिएको बताइन्।
उनका अनुसार कांग्रेस विधानको धारा १७ (२) ले ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन अनिवार्य रूपमा बोलाउनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । सोही प्रावधानअनुसार निवेदन दर्ता भएको तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गरी बहुमतबाट नयाँ कार्यसमिति चयन गरिएको उनको दाबी छ ।
‘सबै शर्त र प्रक्रिया पूरा भइसकेपछि गलत नजिर बस्ला वा अन्यथा निर्णय आउला भन्ने परिकल्पना पनि गरेका छैनौं,’ भुसालले भनिन्।
सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय समितिलाई मात्र रहेको दाबी गरिरहेको सन्दर्भमा उनले विधानले महाधिवेशन प्रतिनिधिलाई पनि अवशिष्ट अधिकार दिएको स्पष्ट पारिन्। ‘महाधिवेशन प्रतिनिधिले केन्द्रीय समिति चयन गर्ने मात्रै होइन, आवश्यक परे भंग गर्ने अधिकार पनि राख्छ,’ उनले भनिन्।
वैशाखमा नियमित महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा विशेष महाधिवेशनको आवश्यकता किन प¥यो भन्ने प्रश्नमा उनले नियमित र विशेष महाधिवेशन फरक–फरक प्रक्रिया भएको स्पष्ट पारिन्। समयमै नियमित महाधिवेशन हुन नसकेपछि प्रतिनिधिहरूले विशेष अधिकार प्रयोग गरेको उनको भनाइ छ ।
आगामी निर्वाचनका सन्दर्भमा भुसालले कांग्रेस अब एक्लै चुनावमा जाने निर्णय विशेष महाधिवेशनले पारित गरिसकेको जानकारी दिइन्। ‘१६५ वटै क्षेत्रमा कांग्रेस एक्लै चुनाव लड्छ,’ उनले भनिन्। महिला उपसभापतिमा निर्वाचित भुसाल शैलजा आचार्यपछि कांग्रेसको दोस्रो महिला उपसभापति हुन्।