npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

सुटकेसभित्र युवतीको शव फेला, श्रीमान् फरार

Saral Patrika 1 day ago

पोखरा। पोखरा–१७ स्थित ड्यामसाइड नजिकैको पुलमुनि सुटकेसभित्र तन्नाले बेरेर फालिएको अवस्थामा एक युवतीको शव फेला परेको छ। फेवातालको ड्यामबाट निस्कने फुस्रे खोलामा बनेको नयाँ पुलमुनि शंकास्पद सुटकेस देखेपछि स्थानीयले आइतबार बिहान प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले सुटकेस खोलेर हेर्दा २२ देखि २५ वर्ष उमेरकी युवतीको शव फेला पारेको हो। मृतकको हातमा ‘मनिषा विश्वकर्मा’ नामको ट्याटु खोपिएको छ भने उनको साथबाट मेडिकल कार्ड समेत बरामद भएको छ। कास्की प्रहरी प्रमुख नवीन कार्कीका अनुसार युवतीको हत्या गरी सुटकेसमा हालेर फालिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

अनुसन्धानका क्रममा ती युवती ड्यामसाइडकै एउटा घरमा श्रीमानसँग कोठा भाडामा लिएर बस्ने गरेको खुलेको छ। करिब एक महिनाअघि मात्र उनीहरूले जापानी भाषा सिक्ने भन्दै श्रीमान्–श्रीमतीका रूपमा कोठा भाडामा लिएका थिए। घटनापछि उनका श्रीमान् फरार छन्, जसको आधार कार्ड भारतको सिलगुडीको रहेको पाइएको छ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखेको छ। प्रारम्भिक जाँचमा युवती महिनावारीको अवस्थामा रहेको देखिएको छ। फरार व्यक्तिको खोजी भइरहेको र प्रहरी घटनाको तथ्य नजिक पुगिसकेको अनुसन्धानमा खटिएका अधिकारीले बताएका छन्। मृतकका आफन्त भने अहिलेसम्म सम्पर्कमा आइसकेका छैनन्।

Read more news from Saral patrika

Explore by Source or Category