npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

एचजीएनद्वारा विदेशी पर्यटकलक्षित नेपालकै पहिलो यन्त्र–आधारित बीमा सेवा सुरू

इन्द्र कमल रोक्का 23 hours ago

काठमाडाैं । हिमालयन गार्जियन नेपाल (एचजीएन)ले नेपाल बीमा प्राधिकरणको सहकार्य र नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिमा विदेशी पर्यटकलक्षित नेपालकै पहिलो डिभाइस आधारित बीमा सेवा सुरु गरेको छ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै एचजीएनले यसबारे जानकारी दिएको हो । नेपालकै पहिलो यन्त्र–आधारित बीमा सेवा प्रणालीको अन्डरराइटर नेपाली कम्पनी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स हो भने लोयड्स अफ लन्डन, एभरेष्ट री र हानोभर री जस्ता अन्तर्राष्ट्रिय पुनर्बीमाकर्ताहरूले एचजीएनलाई समर्थन रहेको छ। यो प्रणाली जीपीएस डेटा र वास्तविक समय ट्र्याकिङमा आधारित भएकाले ठगी रोक्ने, अनावश्यक परीक्षण नियन्त्रण गर्ने र उद्धार खर्चलाई अझै पारदर्शी बनाउने दाबी गरिएको छ।

एचजीएनले हाल विदेशी पर्यटकहरूको आवश्यकताअनुसार विभिन्न बीमा प्याकेजहरू उपलब्ध गराएको छ । ३ हजार ५०० मिटरसम्मका लागि टुर बीमा प्याकेज, ५ हजार ५०० मिटरसम्मका लागि ट्रेकिङ बीमा प्याकेज र ६ हजार मिटरसम्मका लागि क्लाइम्बिङ बीमा प्याकेज सञ्चालनमा छन् । यी प्याकेजहरूमा चिकित्सकीय उपचार, दुर्घटना बीमा, उचाइसम्बन्धी उपचार, हेलिकप्टर उद्धार, रियल–टाइम ट्र्याकिङ र आपतकालीन सेवा समावेश गरिएको छ। आगामी दिनहरूमा थप नयाँ प्याकेजहरू पनि ल्याइने जनाइएको छ ।

एचजीएन नेपालमा साहसिक पर्यटनका लागि स्थापित पहिलो समग्र सुरक्षा इकोसिस्टम हो । एचजीएनमार्फत परिकल्पना गरिएको कम्प्रिहेन्सिभ टुरिजम गार्ड प्रणालीले बीमा, जीपीएस ट्र्याकिङ, स्याटेलाइट सञ्चार र चौबीसै घण्टा उद्धार सेवालाई एउटै संरचनामा एकीकृत गरेको छ । यसका लागि एचजीएनले आफ्नै प्रविधि प्लेटफर्म विकास गरेको छ जसको चौबीसै घण्टा दक्ष अपरेटरहरूले निगरानी गर्ने व्यवस्था गरिएको जनाएको छ ।

एचजीएनको मुख्य उद्देश्य नेपाल तथा हिमाली साहसिक यात्रालाई सुरक्षित, भरपर्दो र अन्तर्राष्ट्रिय रूपमा विश्वासयोग्य बनाउनु भएको बताएको छ । बीमा नीतिमार्फत दुर्घटना, उचाइसम्बन्धी रोग, आपतकालीन उद्धार तथा आकस्मिक अवस्थाबाट यात्रुहरूको सुरक्षा सुनिश्चित गरिने पनि बताइएको छ । साहसिक यात्रामा समस्या परे उद्धार र उपचारमा ठूलो खर्च लाग्ने भएकाले यात्रुहरू आर्थिक रूपमा दबाबमा पर्ने गरेका छन् । यही समस्याको समाधानका रूपमा एचजीएनले सुलभ शुल्कमा बीमा प्याकेज उपलब्ध गराएको जनाएको छ जसको शुल्क १६ अमेरिकी डलरदेखि व्यावसायिक पर्वतारोहणका लागि ५०० अमेरिकी डलरसम्म रहेको छ । प्याकेज अवधि न्यूनतम ७ दिनदेखि अधिकतम ६० दिनसम्म रहेको छ ।

एचजीएनका अनुसार यो सेवा जीपीएस ट्रेसर उपकरणमार्फत सञ्चालन हुन्छ । यस उपकरणले वास्तविक समयमा ट्र्याकिङ र एसओएस सन्देश पठाउने सुविधा दिन्छ । चौबीसै घण्टा सञ्चालन हुने कल सेन्टरले यात्रुहरूको निगरानी गर्दै आपतकालीन अवस्थामा उद्धार टोली परिचालनको समन्वय गर्छ । बीमा कभरेजमा चिकित्सकीय उपचार, उद्धार खर्च, आकस्मिक मृत्यु वा अपाङ्गता तथा यात्रु वा शव स्वदेश फिर्ता पठाउने सुविधा समावेश छ ।

एचजीएनले चिकित्सकीय सेवाका लागि विभिन्न अस्पतालहरूसँग उद्धारका लागि अल्पाइन रेस्क्युजस्ता संस्थासँग तथा पर्यटन क्षेत्रका संघ–संस्थासँग सहकार्य गर्दै आएको छ । नेपाल बीमा प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त यो प्रणालीले अनधिकृत उद्धार, ढिलो प्रतिक्रिया र कमजोर चिकित्सकीय समन्वयका समस्यालाई अन्त्य गर्ने विश्वास व्यक्त गरिएको छ ।

Read more news from Kendrabindu

Explore by Source or Category