जयबागेश्वरीबाट सुरु भयो नवदूर्गा जात्रा (तस्बिरहरु)
काठमाडौँ। काठमाडौँको पशुपति क्षेत्रमा नवदूर्गा (न्याँलाकेगु) जात्रा प्रारम्भ भएको छ। बाला चर्तुदशी पछिको नवमी र दशमीका दिन पहिलो चोटी पाशुपत क्षेत्रको जयवागेश्वरी प्राङ्गणमा नृत्य प्रदर्शन गर्ने गरिएको छ।
यसरी जयबागेश्वरीबाट सुरु यस नाच विभिन्न समयमा विभिन्न स्थानमा प्रदर्शन गरिन्छ। सबैले नवदूर्गा जात्रा भनेर चिन्ने यो परम्परा, भक्तपुर नगरको मानव सभ्यतामा आधारित श्री नवदूर्गा भवानीको ङा लाकेगु जात्रा हो। यो नेपालकै लामो जात्राको रुपमा परिचित छ।
जयबागेश्वरीमा नाचका लागि भक्तपुरबाट आएका देवगणहरुको पशुपतिनाथ र पशुपति परिसरमा भएका देवगणसँग भेट भएको छ।
यसक्रममा जय वागेश्वरीमा मूल पुजारीले नवदूर्गालाई पूजा दिएर भैरवलाई जल र प्रसाद अर्पण गर्नुभएको थियो। पशुपतिको मूल चोकमा देवगणको नाच गरेर भेट गर्ने, गुजेश्वरी देवतालाई नाचका रुपमा भेट गर्ने, दक्षिणतर्फको शिवालय चोकमा मु बां लिकेगु जात्रा गर्ने र पशुपति क्षेत्र विकास कोषबाट पूजा लिने प्रचलन छ। यससँगै जयबागेश्वरीमा नाच प्रदर्शन भएको छ। यी संस्कार हिजो सकिएका छन्।
यी संस्कारसँगै यस वर्षको पहिलो ख जुयगु (बास बस्ने) काम जयबागेश्वरीमा भएको छ। आज वाराही, महाकालीसहित विभिन्न नाच प्रदर्शन हुनेछन् । श्वेत भैरवले माछा मार्ने नृत्य आजको प्रमुख आकर्षण हुनेछ।







