आर्सनल र चेल्सीको बराबरी, लिभरपुलको जित
एजेन्सी – १० खेलाडीमा सीमित भएको चेल्सीले शीर्ष स्थानको आर्सनललाई रोक्दै प्रिमियर लिगको रोमाञ्चक लन्डन डर्बी १-१ को बराबरीमा टुंग्यायो।
स्ट्याम्फोर्ड ब्रिजमा भएको खेल निकै उतार चढावपूर्ण रह्यो। आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग अन्तर ७ अंक पुर्याउने लक्ष्य राखेको थियो । तर बराबरीपछि डिसेम्बरको सुरुवात ५ अंकको अग्रताबाट हुनेछ ।
खेलको ३८औँ मिनेटमा चेल्सीका मोइसेस कैसिडो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि आर्सनललाई फाइदा मिलेजस्तो देखिएको थियो। तर दोस्रो हाफको सुरुवातमै ट्रेपोह चालोबाहले हेडरमार्फत चेल्सीलाई अग्रता दिलाए।
५९औँ मिनेटमा बुकायो साकाले दिएका उत्कृष्ट क्रसमा मिकेल मेरिनोले हेड गर्दै आर्सनललाई बराबरीमा ल्याए। त्यसपछि पनि आर्सनलले जित निकाल्ने कोशिश गर्यो, तर अन्तिमसम्म गोल गर्न सकेन।
यो बराबरीपछि चेल्सी र आर्सनल ( ३० अंक) बीचको अंक अन्तर ६ रहेको छ। चेल्सी एस्टन भिलालाई पछि पार्दै पुनः तेस्रो स्थानमा उक्लिएको छ।
लिभरपुलको जित
लिभरपुलल वेष्ट हमलाई २–० ले हराउँदै जितको लय समातेको छ। एलेक्जान्डर इसाकले क्लबका लागि पहिलो प्रिमियर लिग गोल गर्दा कोडी गाक्पोले इन्जुरी समयमा दोस्रो गोल थपे।

लण्डन स्टेडियममा भएको खेलमा वेष्ट हम दोस्रो हाफमै १० खेलाडीमा सीमित भयो। इसाकले ६०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसअघि इसाकको प्रहार वेष्ट हमका गोलरक्षक अल्फोन्स एरिओलाले रोकेका थिए।
१० खेलाडीमा सिमित वेष्ट ह्यामले फर्कने प्रयास गरे पनि खेलभर एउटोपनि लक्ष्यमा शट कर्न सकेन। इन्जुरी समयको दोस्रो मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुलको जित निश्चित गरे।
यो जितसँगै लगातार तीन खेलमा हार बेहोरेको लिभरपुलले महत्वपूर्ण ३ अंक बटुल्दै तालिकाको आठौँ स्थानमा पुगेको छ।


The post आर्सनल र चेल्सीको बराबरी, लिभरपुलको जित first appeared on हाम्रो खेलकुद.