इरानमा रहेका सबै नेपाली सुरक्षित, सतर्क रहन परराष्ट्रको आग्रह
काठमाडौँ। इरानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरू सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार विभिन्न प्रयोजनका लागि इरानमा रहेका कुल १२ जना नेपालीमध्ये दुई जना नेपाल फर्किसकेका छन् भने दुई जना आउने क्रममा रहेका छन्।
बाँकी आठ जना नेपाली अझै इरानमै रहेका र उनीहरू सबै सुरक्षित रहेको जानकारी प्रवक्ता क्षेत्रीले दिए। उनीहरूसँग नेपाली दूतावासले निरन्तर सम्पर्क गरिरहेको उनले बताए।
मध्यपूर्वमा विकसित भइरहेको युद्धको परिस्थितिलाई मन्त्रालयले नजिकबाट नियालिरहेको छ। मन्त्रालयले हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन र सचेत रहन आग्रह गरेको छ।
नेपालीहरूलाई सकेसम्म घरभित्रै बस्न, आवश्यक सावधानी अपनाउन र आफ्नो क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन भनिएको छ।
साथै, इजरायल र इरानका सम्बन्धित निकायहरूको पूर्व स्वीकृतिविना यात्रा नगर्न र नेपालबाट ती देशतर्फ हुने सम्पूर्ण यात्रा तत्कालका लागि रद्द गर्न समेत परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ।