npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

शेखर कोइरालाको आत्मालोचना: राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनेर कांग्रेसलाई कमजोर पारियो

इन्द्र कमल रोक्का 1 day ago

काठमाडौँ । नेपाली कांग्रेसभित्रको विभाजनलाई डा. शेखर कोइरालाले केवल आन्तरिक असहमतिको परिणामका रूपमा मात्र नहेर्न आग्रह गरेका छन्। विहिवार एक वक्तव्य जारी गर्दै उनले पार्टी कमजोर पार्न ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै तानाबाना बुनिएको’ भन्दै कांग्रेस संकट गहिरो राजनीतिक खेलको उपज भएको बताए।
वक्तव्यमा कोइरालाले पार्टीलाई एकताबद्ध राख्न गरिएको प्रयास असफल भएको स्वीकार गर्दै दोषारोपणको राजनीति नगर्ने स्पष्ट पारे। तर, उनले देखिएका र नदेखिएका अन्तरविरोध, षड्यन्त्र र स्वार्थको घेराभित्र कांग्रेस फसेको दाबी गरे।

कोइरालाले कांग्रेसभित्र देखिएको विभाजन केवल नेतृत्वगत असफलता नभएर समयक्रममा विकसित हुँदै आएको राजनीतिक दबाब, शक्ति संघर्ष र बाह्य प्रभावको नतिजा भएको उल्लेख गरे । ‘राजधानी केन्द्रित अनेकन् राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वार्थले कांग्रेसलाई कमजोर पार्ने प्रयास गरे, जसलाई रोक्न हामी असफल भयौँ,’ उनको वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा उनले आत्मआलोचनात्मक शैली अपनाउँदै आफूहरू पनि कतै न कतै चुकेको स्वीकार गरेका छन्। तर, विभाजनका दोषी–निर्दोष छुट्याउने जिम्मा इतिहासलाई सुम्पिएको भन्दै वर्तमान राजनीतिक वातावरणलाई थप धुमिल नबनाउने संकेत गरे।

शेखर कोइरालाले वर्तमान परिस्थितिलाई बीपी कोइरालाको संघर्षकालसँग तुलना गर्दै पार्टीभित्रको विचलनलाई ‘नियतिले खेल्ने खेल’का रूपमा व्याख्या गरेका छन्। उनले बीपीको साथ छाड्ने केही समूह भए पनि कांग्रेसको मूलधार लोकतान्त्रिक संघर्षमै अडिग रहेको स्मरण गराएका छन्।

उनको भनाइमा कांग्रेस अहिले दुईवटा गम्भीर चुनौतीको सामना गरिरहेको छ—आठ दशक लामो राजनीतिक इतिहास जोगाउने र विभाजित अवस्थामा नै निर्वाचनमा जानुपर्ने बाध्यता। पार्टी एक भएर चुनावमा जानु नै सबैको साझा चाहना भए पनि त्यसमा इमानदार प्रयास सफल हुन नसकेको उनले स्वीकार गरेका छन्।

Read more news from Kendrabindu

Explore by Source or Category