भूकम्प सुरक्षा दिवस मनाइँदै
काठमाडौँ । नेपालमा आज विभिन्न चेतनामूलक कार्यक्रमका साथ २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ। विसं १९९० माघ २ गते गएको विनाशकारी महाभूकम्पको सम्झनामा सरकारले २०५५ सालदेखि यो दिवस औपचारिक रूपमा मनाउन प्रारम्भ गरेको हो।
भूकम्पीय जोखिमका बारेमा जनचेतना फैलाउनु, सुरक्षित भवन निर्माणका लागि नागरिकलाई प्रोत्साहित गर्नु र सम्भावित विपद्को पूर्वतयारीलाई सुदृढ बनाउनु नै यो दिवसको मुख्य उद्देश्य रहेको छ।
विसं २०७२ वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’ ले ठूलो संख्यामा मानवीय र भौतिक क्षति पुर्याएपछि नेपालमा भूकम्प सुरक्षा र पूर्वतयारीको विषयलाई अझ बढी गम्भीरताका साथ हेर्न थालिएको हो।
यसै सन्दर्भमा आज देशभरका सरकारी तथा गैरसरकारी निकायहरूले विभिन्न अन्तर्क्रिया, र्याली र प्रदर्शनी जस्ता कार्यक्रमहरूको आयोजना गरेका छन्। यस अवसरमा सुरक्षा निकायहरूले भूकम्पबाट बच्ने उपाय र उद्धार कार्यका नमुनाहरू प्रदर्शन गर्दै सुरक्षित नेपाल निर्माणको संकल्पलाई दोहोर्याएका छन्।