npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

तीब्र गतिमा निर्माण हुँदै जनमुक्ति मार्ग

पालिका ब्यूरो 3 days ago

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारि क्षेत्रका नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले निर्माण भइरहेको जनमुक्ति मार्गको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढाइएको छ । महाभारत र खानीखोला गाउँपालिकाका नागरिकलाई सहज आवतजावतको सुविधा उपलब्ध गराउने लक्ष्यसहित यो सडक निर्माण भइरहेको हो ।

बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको पिन्थलीबाट रजबास हुँदै डाँडापारिस्थित महाभारत गाउँपालिकाको चारकिल्ला–तीनखुट्टे–देवीटार–घर्तिछाप–गोकुले–छोटेसाहन र खानीखोलाको तालढुङ्गा भएर मकवानपुर जिल्लाको भोर्लेनी–झुरझुरे हुँदै मदनभण्डारी लोकमार्ग जोड्ने यो सडक खण्ड निर्माणाधीन अवस्थामा छ ।

हाल रजबास–तीनखुट्टे खण्डअन्तर्गत महाभारत गाउँपालिकाको कोलटार आसपासमा पर्खाल, नाली निर्माण तथा सडक ढलानका लागि फलामे छड बिछ्याएर ढलानको काम भइरहेको छ । त्यस्तै, तीनखुट्टे–देवीटार खण्डको खोलाघारी र घ्याब्रिङ क्षेत्रमा सडक निर्माणको काम जारी छ भने देवीटार–घर्तिछाप लभडाँडा खण्डअन्तर्गत घर्तिछाप गाउँमा कालोपत्रका लागि बेस हाल्ने काम भइरहेको छ ।

लभडाँडा–छोटेसाहन खण्डअन्तर्गत गोकुले, धापलगायत स्थानमा सडक नाली र पर्खाल निर्माण तथा कालोपत्रका लागि बेस हाल्ने काम भइरहेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।

सुरुमा जिल्ला सदरमुकामलाई पालिका केन्द्रसँग जोड्ने उद्देश्यले अघि बढाइएको यो सडक योजना पछि डाँडापारि क्षेत्रका नागरिकलाई जिल्ला तथा प्रदेश राजधानीसँग जोड्ने दीर्घकालीन लक्ष्यसहित विस्तार गरिएको हो । बागमती प्रदेश सरकारले यस सडकलाई प्रादेशिक मार्गका रूपमा समेट्दै निर्माण कार्यलाई तीव्रता दिएको छ ।

तीनखुट्टे–खोलाघारी–देवीटार ८ दशमलव ७ किलोमिटर सडक निर्माणका लागि श्रेष्ठ÷सक्षम जेभी सामाखुसीले २०७७ असारमा ठेक्का सम्झौता गरी २०७९ असारमा सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरेको थियो । तर, निर्माण व्यवसायीको ढिलासुस्तीका कारण लामो समय अलपत्र जस्तै बनेको यो खण्ड अहिले पालिका र प्रदेश सरकारको निरन्तर दबाबपछि तीव्र गतिमा अगाडि बढाइएको छ ।

निर्माण कम्पनीका परियोजना प्रबन्धक रोहन खत्रीका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष काम उल्लेखनीय रूपमा अघि बढेको छ । “अहिले कालोपत्रका लागि ३० जना र ड्रेन वाल निर्माणका लागि ३५ जना जनशक्ति परिचालन गरिएको छ,” उनले भने,“आगामी वैशाखसम्ममा काम सम्पन्न गर्ने लक्ष्य छ ।”

पूर्वाधार विकास कार्यालय धुलिखेलका सुपरभाइजर निर्मल दर्जीले पनि अघिल्लो वर्षहरूको तुलनामा अहिले कामले गति लिएको बताए । गुणस्तरमा ध्यान दिँदै समयमै काम सम्पन्न गर्ने गरी निर्माण भइरहेको उनको भनाइ छ ।

त्यस्तै, रजबास–चारकिल्ला–तीनखुट्टे खण्डअन्तर्गत कोलटार आसपासको काममा पनि उल्लेखनीय प्रगति भएको छ । निर्माण कम्पनीका सम्पर्क प्रबन्धक सुजन गिरीका अनुसार करिब ९५ प्रतिशत संरचनागत काम सम्पन्न भइसकेको छ । १५ दशमलव ५ किलोमिटर सडकखण्डमध्ये ११ किलोमिटर कालोपत्र र साढे चार किलोमिटर ढलानको काम भइरहेको छ । आगामी असारसम्ममा काम सम्पन्न गर्न करिब एक सय जना जनशक्ति परिचालन गरिएको उनले जानकारी दिए ।

महाभारत गाउँपालिका अध्यक्ष जिम्बाका अनुसार पिन्थलीदेखि मदनभण्डारी लोकमार्गसम्म जोडिने करिब ८० किलोमिटर सडक विभिन्न चरणमा नौ खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । हाल करिब १८ किलोमिटर खण्डबाहेक अन्य स्थानमा काम निरन्तर भइरहेको उहाँले बताउनुभयो । आगामी असारभित्र महाभारत गाउँपालिकाभित्रका ४४ किलोमिटर सडक निर्माण सम्पन्न हुने विश्वास लिइएको छ ।

उनका अनुसार पालिका, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय बासिन्दाको सक्रिय अनुगमन र सहयोगका कारण पछिल्लो समय ढिलाइ भएको खण्डमा समेत कामले गति लिएको छ ।

डाँडापारि क्षेत्रका नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने योजनामध्ये सडक सञ्जाल र केन्द्रीय विद्युतीकरणलाई प्रमुख मानिएको छ । केन्द्रीय विद्युतीकरण सम्पन्न भइसकेको र सडक निर्माण पूरा भएपछि यस क्षेत्रका नागरिकको जीवनस्तरमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ ।

Read more news from PalikaNews

Explore by Source or Category