npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

राजनीतिक दलका नेताहरूले निर्वाचन आचारसंहिताको व्यवहारिक पक्षमाथि उठाए प्रश्न

Hem Rokaha 12 hours ago

काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनका सम्बन्धमा राजनीतिक दलहरूसँग छलफल गरेको छ। छलफलमा विभिन्न दलका नेताहरूले आचारसंहिताको व्यवहारिक पक्षमाथि प्रश्न उठाएका छन्।

नेकपा (एमाले)का सचिव राजन भट्टराईले बालबालिकाको प्रयोग गर्न नपाइने व्यवस्था जायज भएको बताए। तर, त्यसैलाई लिएर अनावश्यक विवाद हुने भन्दै उनले यो व्यवस्था व्यवहारिक नहुने भनाइ राखे।

‘२५ जनाभन्दा बढी मानिस लिएर मनोनयनमा जान नपाउने व्यवस्था कत्तिको व्यवहारिक हो?’ उनले प्रश्न गरे, ‘१० वटाभन्दा बढी झण्डा प्रयोग गर्न नपाइने व्यवस्था पनि व्यवहारिक छैन।’

स्थानीय जनप्रतिनिधि चुनाव प्रचारमा जान नपाउने व्यवस्था कसरी कार्यान्वयन हुन्छ भन्नेबारे उनले प्रश्न उठाए। उम्मेदवारी डेढ महिनाअघि दर्ता गर्नुपर्ने तर प्रचारप्रसार १७ दिन मात्र गर्न पाउने व्यवस्थाप्रति असन्तुष्टि जनाए।

‘उम्मेदवारी दिएर घरमै बसिराख भनेको हो कि?’ उनले भने।

उनले सुरक्षा व्यवस्थाप्रति पनि प्रश्न उठाएका थिए।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले अहिलेको सरकारले यस्तालाई जिताउने र उसलाई जिताउने भनिरहेको भन्दै चुनावमा के हुन्छ भन्दै प्रश्न गरे।

‘यो गैर दलीय सरकार हो। यसो भन्न मिल्छ?’ उनले प्रश्न गरे।

पुनले प्रविधिको दुरूपयोग नियमन गर्न सबल क्षमता छ कि छैन भनेर पनि प्रश्न उठाएका थिए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले जति धेरै आचारसंहिता बनेका छन् त्यति नै कार्यान्वयन गर्न कठिन भएको बताए। समानुपातिक निर्वाचनको उम्मेदवार हुन पनि सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था व्यवहारिक नभएको उनले बताए।

उनले भने, ‘पहिला मनी र मसलको जमाना थियो अहिले प्रविधिको दुरूपयोग भएको अवस्था छ। अहिले फेसबुकबाट फलानो प्रधानमन्त्री उहाँले यति भोट पाउनु भयो भनेर चुनावअघि नै आइरहेको छ। प्रविधिको दुरूपयोग रोक्न जनशक्ति नभए थपौँ।’

उनले निर्वाचनमा राष्ट्रिय झण्डा प्रयोग गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताए। यससम्बन्धी ऐन पनि रहेको उनले स्मरण गराए।

चोरी र आगजनी गर्न जाँदा पनि राष्ट्रिय झण्डा प्रयोग भएको उदाहरण दिँदै उनले निर्वाचन आयोग पनि सामाजिक सञ्जालबाट बहकिएको जस्तो देखिएको टिप्पणी गरे।

The post राजनीतिक दलका नेताहरूले निर्वाचन आचारसंहिताको व्यवहारिक पक्षमाथि उठाए प्रश्न appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category