निर्वाचन कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटना
काठमाडौँ। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी बोकेको गाडी रामेछापमा दुर्घटनामा परेको छ । सोमबार रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीमा निर्वाचन सामग्रीसहित जाँदै गरेको गाडी दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) होम भट्टका अनुसार मन्थलीबाट रामेछाप-२ र ३ का मतदान केन्द्रका लागि निर्वाचन सामग्री र कर्मचारी लिएर जाँदै गरेको गाडी देउराली सिरुवारीको भिरबाट तल खसेको छ ।
उक्त गाडीमा देउराली मतदान केन्द्रका मतदान अधिकृतसहित नेपाल प्रहरीका सहायक निरीक्षक (असई) र अन्य सुरक्षाकर्मीहरूको टोली सवार रहेको प्रारम्भिक जानकारी आएको छ ।
घटना लगत्तै उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ । विकट क्षेत्र र भिरमा दुर्घटना भएकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।