PalikaNews
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
म्याग्दी – अन्नपूर्ण गाउँपालिका–६ घारको देउरालीडाँडामा स्थानीयवासीले सरकारी निकायको सहयोगबिनै दृष्यावलोकन केन्द्र निर्माण गरेका छन् । भुवानी युवा परिवारले दुई वर्षअघि दिवङ्गत आफ्ना संस्थापक सदस्य स्वर्गीय कृष्णप्रसाद बरुवालको स्मृतिमा उक्त दृष्यावलोकनस्थल निर्माण गरेको हो ।
परिवारका अगुवा श्यामप्रसाद खड्काका अनुसार श्रमदानसहित करिब रु दुई लाख बराबरको सहयोग जुटाएर देउरालीडाँडा पुग्ने पदमार्ग, रेलिङ, विश्रामस्थल निर्माण गर्नुका साथै सूचनापाटी स्थापना गरिएको छ । “देउरालीलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यले संस्थापक बरुवालको स्मृतिमा पूर्वाधार निर्माण गरेका हौँ,” उनले भने, “पहाडको टुप्पोमा रहेको देउरालीमा पदमार्ग र रेलिङ तथा आराम गरेर दृश्य अवलोकन गर्ने व्यवस्था मिलेपछि पर्यटकका लागि सहज र सुरक्षित भएको छ ।”
भुवानी युवा परिवारले रु एक लाख २० हजार नगदसहित कुल रु एक लाख ८५ हजार ५०० सहयोग जुटाएको जनाएको छ । श्रमदानमा सहभागी पाँच जनालाई करिब रु १३ हजार बराबरको खाजा खुवाइएको थियो । ३५ जनाले सरदर दुई–दुई दिन श्रमदान गरेका थिए । सबैभन्दा बढी नौ दिन श्रमदान गर्नुभएका श्यामप्रसाद खड्काले थप रु तीन हजार बराबरको गिट्टी र बालुवा सहयोग गरेका छन् ।
समुद्री सतहदेखि एक हजार ७८४ मिटर उचाइमा रहेको देउरालीबाट निलगिरि र अन्नपूर्ण हिमशृङ्खला, पहाडी भू–भाग, ग्रामीण बस्ती तथा नागबेली परेर बगेको कालीगण्डकी नदीको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । यहाँबाट घार, शिख, पाउद्वार, भुरुङ–तातोपानी, दाना र नारच्याङ गाउँ देख्न सकिन्छ । देउराली शान्त र एकान्त स्थानका रूपमा परिचित छ ।
पोखरेबगर–चित्रे–घोडेपानी सडकखण्डको भुवानेदेखि करिब १० मिनेट पैदलयात्रा गरेपछि देउराली पुग्न सकिन्छ । सो स्थानसम्म पुग्ने कच्ची सडकसमेत उपलब्ध छ । पोखरेबगर–चित्रे सडक विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानीसँग जोडिन्छ ।
घोडेपानी आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन तथा स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउन देउरालीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल गरिएको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए ।