सर्वोच्च र सिंहदरबार जलाएको अभियोगमा १३ जना विरुद्ध मुद्दा दायर
काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ।
गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगजनी र विध्वंशमा संलग्नहरू विरुद्ध आपराधिक उपद्रव र डाँका सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक अधिकारीका अनुसार सर्वोच्च अदालत जलाएको अभियोगमा सुनिल श्रेष्ठ, ज्याति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियार विरुद्ध मुद्दा दर्ता भएको छ।
उनीहरूले सर्वोच्चमा आगजनी गर्दा १ अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँ बराबरको क्षति पुगेको अभियोग पत्रमा उल्लेख छ।
त्यसैगरी सिंहदरबारमा तोडफोड तथा आगजनी गरेको आरोपमा आशिष गुरुङ विरुद्ध मुद्दा दायर भएको छ। प्रहरी वृत्त बौद्धमा आगजनी गरेको आरोपमा समीर श्रेष्ठ र सुनिल तामाङ तथा प्रहरी प्रभाग बलम्बु तोडफोड गरेको अभियोगमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विक विरुद्ध पनि मुद्दा चलाइएको छ।
भदौ २४ गतेको उक्त हिंसात्मक घटनापछि सर्वोच्च अदालत प्रशासनले दोषीमाथि कारबाहीको माग गर्दै काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएको थियो। सोही जाहेरीका आधारमा प्रहरीले गरेको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा पेश गरेको हो।