npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

माघका लागि बैंकले घटाए ब्याजदर, कसको कति ?

Saral Patrika 23 hours ago

काठमाडौँ। बैंकहरूमा लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि आगामी माघ महिनाका लागि एक दर्जन वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। पुस महिनाको तुलनामा माघमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर शून्य दशमलव १४ प्रतिशत विन्दुले ओरालो लागेको छ।

पुसमा औसत ब्याजदर ४ दशमलव ८ प्रतिशत विन्दु रहेकोमा माघका लागि यो दर घटेको हो। ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास बैंक, एभरेष्ट, सिद्धार्थ, सानिमा, लक्ष्मी सनराइज, हिमालयन, माछापुच्छ्रे, सिटिजन्स, कुमारी, नेपाल एसबिआई र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्। यीमध्ये हिमालयन र माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै ब्याजदर घटाएका छन्।

विवरण अनुसार माघमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ कृषि विकास बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकले समान ४ दशमलव ४० प्रतिशत ब्याज तोकेका छन्। त्यसैगरी लक्ष्मी सनराइज र सिटिजन्स बैंकले ४ दशमलव ५० प्रतिशत, प्रभु र सानिमा बैंकले ४ दशमलव ५५ प्रतिशत तथा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४ दशमलव ३६ प्रतिशत ब्याज दिने भएका छन्।

हिमालयन बैंकले ५ प्रतिशत र माछापुच्छ्रे बैंकले ४ दशमलव ५ प्रतिशत ब्याजदर कायम गरेका छन्। ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै ५ दशमलव ५० प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ भने नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबि, नेपाल इन्भेष्टमेन्ट मेगा र एनआईसी एशिया बैंकले ५ प्रतिशत ब्याजदर कायम राखेका छन्।

यता प्राइम कमर्सियल बैंकले भने अन्य बैंकको विपरीत ब्याजदरमा सामान्य वृद्धि गरेको छ। पुसमा ४ दशमलव २५ प्रतिशत ब्याज दिएको यस बैंकले माघका लागि ४ दशमलव ४० प्रतिशत पुर्‍याएको छ। संस्थागत मुद्दती निक्षेपतर्फ भने ४ वटा बैंकले मात्र ब्याजदर घटाएका छन् भने बाँकी १६ वटा बैंकले पुस महिनाकै दरलाई यथावत राखेका छन्। अधिक तरलताका कारण बैंकहरूले निक्षेपको लागत कम गर्न ब्याजदर घटाउने रणनीति लिएको देखिएको छ।

Read more news from Saral patrika

Explore by Source or Category